काठमाडौं, पुस ७ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त प्रभावका कारण अहिले कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ ।
बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।