तनहुँ, पुस ७ । स्त्रीरोग पहिचान तथा परीक्षणका विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्ने उद्देश्यले तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महिलाको स्वास्थ्य समस्याको पहिचान र यससम्बन्धी चेतना दिन शिविर सञ्चालन गरिएको हो ।
मिलन योग साधना केन्द्र, मिलन टोल विकास सस्थाको आयोजना, भादगाउँ स्वास्थ्य क्लिनिक, श्रीना फार्मेसीको सहआयोजना र गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । विशेषज्ञ चिकित्सकको अभावमा यहाँका बिरामी स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहनुपर्ने बाध्यता भएकाले सहज रूपमा सेवा प्रवाह गर्न शिविरको आयोजना गरिएको जिल्ला समन्वय समितिका पूर्वसदस्य तथा स्थानीय केशबहादुर सुनारले जानकारी दिए ।
शिविरमा गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. रुपा पनेरुको नेतृत्वमा डा. गरिमा गौतम, डा. कोमल शाहलगायतको टोलीले प्रसूति तथा स्त्रीरोगको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षण गराउँदै व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले घरआँगनमै स्वास्थ्य परीक्षण गर्न पाउँदा बिरामीलाई सहज भएको बताइन् ।
योग गर्न सहज बनाउन योग भवन बनाउन नगरपालिकाले मद्दत गर्ने उपप्रमुख दरैले बताइन् । शिविरमा निःशुल्क औषधी वितरण गरिएको छ । शिविरमा एक सय २१ महिलाले स्वास्थ्य सेवा लिएका थिए । रासस