काठमाडौं, पुस ९ । रुसको साइबेरियामा ५० हजार वर्ष पुरानो अत्यन्तै दुर्लभ म्याथम (हात्तीजस्तै देखिने एक जनावर)को अवशेष भेटिएको छ । म्यामथको पोथी बच्चाको अवशेष रुसी वैज्ञानिकहरूले सोमबार याकुटियाको पर्माफ्रस्टले ढाकिएको क्षेत्रमा फेला पारेका हुन् । उनीहरूले त्यसका संरक्षित अवशेषहरू प्रदर्शन गरेका छन् । उक्त पोथी म्यामथको नाम ‘याना’ नाम दिइएको छ । यो यसै गर्मीमा फेला परेको नदीको नामबाट राखिएको हो ।
विशेषज्ञहरूका अनुसार ‘याना’ विश्वकै सबैभन्दा राम्रोसँग संरक्षित म्यामथको शव हो र यो अहिलेसम्म फेला परेका सात पूर्ण अवशेषमध्ये एक हो । मृत्यु हुँदाको उमेर ‘एक वर्ष वा केही बढी’ अनुमान गरिएको छ, जसको सही उमेर पत्ता लगाउन अब अध्ययनहरू गरिनेछ ।
क्षेत्रीय राजधानी याकुत्स्कको फेडरल युनिभर्सिटी अफ द नर्थ इस्टमा शव प्रदर्शन गरिएको संस्थाले विज्ञप्तिमा जनाएको छ । ‘म्यामथको असाधारण संरक्षणले हामी सबैलाई आश्चर्यचकित पार्यो,’ कुलपति अनातोली निकोलायेभले भने । अनुसन्धानकर्ता म्याक्सिम चेप्रासोभले यो एउटा ‘अद्वितीय खोज’ भएको बताए ।
अवशेषको तौल १८० किलोग्राम छ र यो १२० सेन्टिमिटर अग्लो र २०० सेन्टिमिटर लामो छ । बटागाइका अनुसन्धान केन्द्रनजिकै शव उत्खनन गरिएको थियो । त्यहाँ घोडा, बाइसन र लेमिङजस्ता अन्य प्रागऐतिहासिक जनावरका अवशेषहरू पनि फेला परेका छन् ।
विश्वविद्यालयका अनुसार यो खोजअघि विश्वमा जम्मा ६ वटा म्यामथका शव फेला परेका थिए । पाँचवटा रुसमा र एउटा क्यानडामा फेला परेका हुन् । याकुटिया आर्कटिक महासागरको सीमानामा रहेको दुर्गम क्षेत्र हो । यसको पर्माफ्रस्टले विशाल फ्रिजरको रूपमा काम गर्दछ । यसले प्रागऐतिहासिक जनावरहरूको अवशेषहरू सुरक्षित गर्दछ ।