काठमाडौं, ९ पुष । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग निरन्तर सम्वादमा छन् । विप्लवलाई भित्र्याउने घोषणा गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भने विप्लवको भेटवार्ता नै पातलिएको छ । विप्लवले एकताको लागि प्रचण्ड उदासिन बनेको आरोप लगाएका छन् ।
तर, प्रचण्डसँग वारपारको राजनीतिक लडाईंमा रहेका जनार्दन भने विप्लवसँग निरन्तर सम्वादमा रहेको पाईएको छ । केही समय पहिले विप्लवको कार्यथलो कपिलवस्तुमा पुगेर जनार्दनले राजनीतिक भलाकुसारी गरेका थिए । उनीभन्दा केही पहिले नेकपा (एकीकृत समाजावदी) का महासचिव घनश्याम भुसालपनि विप्लव निवासमा पुगेका थिए ।
जनार्दन र घनश्याममात्रै नभएर माओवादी केन्द्रकै उपमहासचिव वर्षमान पुनले पनि विप्लवसँग निरन्तर भेटवार्ता गरिरहेका छन् । विप्लव यतिवेला काठमाडौंमा छन् । काठमाडौंमा हुँदापनि उनले प्रचण्डसँग भने भेटवार्ता गरेका छैनन् ।
कतिपयले अहिले जनार्दन र घनश्यामले विप्लवसँग सहकार्य गर्नेगरि तयारी थालेको भनेर पनि चर्चा गर्न थालेका छन् । विप्लव हालै पार्टीको केन्द्रीय कमिटीको बैठक समापन गरेर काठमाडौं फर्किएका हुन् । सो बैठकले पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने निर्णयसमेत गरिसकेको छ । निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया कहाँ पुगेको भनेर नेताहरुले खुलाएका छैनन् ।
तर, विप्लव अब शान्तिपूर्ण राजनीतिको मार्गमा अघि बढ्न तयार भएको सन्देश भने प्रवाह भैसकेको छ । विप्लवको नेतृत्वमा नेकपा दर्ता भए सोह िदलमा गोलवद्ध भएर अघि बढ्नुपर्ने निश्कर्षमा माओवादीका केही नेताहरुपनि पुगेको बताईन्छ । यही पुष ११ गते विप्लव र जनार्दनले एउटै स्टेज सेयर गर्ने तय भएको छ ।