Logo

कांग्रेस–एमाले गठबन्धनको गाँठो कसिलो बनाउन गम्भीर गगन, देउवा दम्पति दबावमा !



काठमाडौं, १० पुष । नेपाली कांग्रेसका महामन्त्री गगन थापा कांग्रेस–एमाले गठबन्धनलाई ०८४ सम्म कायम गर्नको लागि आक्रामक तयारीमा जुटेका छन् । दुई दलबीचको सहकार्य सुरु हुनुअघि यसको सुईंकोसमेत नपाएका थापा गठबन्धन बनेपछि भने एकाएक यसको भारी बोक्न कस्सिए । कांग्रेस र एमाले दुवै दलका प्रभावशाली नेताहरू यतिवेलासम्मपनि यो गठबन्धनलाई दुई दलको गठबन्धन भन्न रुचाउँदैनन् ।

उनीहरु यो गठबन्धनलाई ‘देउवा–ओली’ को स्वार्थको उपज भन्दैछन् । देशलाई सही दिशामा डोर्याउन र संविधान संशोधनमार्फत राजनीतिक स्थायित्व हाँसिल गर्नको लागि आफूहरु मिलेको भनेर अहिलेपनि दुवै दलका शीर्ष नेताहरु फलाकिरहन्छन् । तर, कांग्रेसकै कतिपय प्रभावशाली नेताहरुले स्वार्थको कारण सहकार्य भएको भन्दै सहकार्य लामो नजाने दाबी गरिरहेका छन् । कतिपयले भने देउवाले नचाहेसम्म सरकार ढल्दैन भन्नेपनि दाबी गरेका छन् । दुवै दाबीमा सत्यता छ । दुई दलबीचको स्वार्थ टकराएको दिन सरकार ढल्छ भन्नेमा कुनै द्धिविधता छैन् ।

उता, देउवाले आँफै प्रधानमन्त्री बन्न मन बनाए यो सरकार एक दिनपनि अघि बढ्न सक्दैन् । देउवा र ओलीबीचको रसायन यति मजबुद हुनुमा अहिलेकी परराष्ट्रमन्त्री डा. आरजु राणाको भूमिका रहेको बताईन्छ । आरजुलाई भावी प्रधानमन्त्रीको रुपमा समेत चित्रण गर्न थालिएको छ । राष्ट्रिय राजनीतिमा मात्रै नभएर अन्तर्राष्ट्रिय मञ्चमा समेत आरजुको चर्चा तथा परिचिर्चा हुने गरेको छ । एमालेसँगको सहकार्य तत्काल नतोडिने कुरा आरजुको रुचिमा भर परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्री राणाको असाध्यै राम्रो केमेष्ट्री मिलेको छ । प्रधानमन्त्री ओली उसैपनि देउवाको इशाराबिना चल्नसक्ने अवस्था छैन् । एमालेकै एकथरी नेताले प्रधानमन्त्री ओलीलाई देउवाले बाँधेर राखेको चर्चा गर्न थालेका छन् । ओलीका अनेक दाउ देउवाको कारण दबिएका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ओलीको एक्शन–प्लानबाट गायब भएको महत्वपूर्ण योजना हो ।

देउवाले सुरुमा वचन दिएपनि अन्तिममा पार्टीभित्रको दबाब देखाएर पन्छिएपछि प्रधानमन्त्री दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनबाट रोकिएका छन् । यस कार्यकालको सुरुवातमै आफ्नो पहिलो विदेश भ्रमण चीन सुरु गर्नुअघि बीआरआईमा कांग्रेससँग परेको विवाद र बीआरआईबारे दुई दलबीच समान मत नभएको कुरा ओलीले बिर्सिने कुरै भएन ।

भ्रमण दौरान ओली निराश थिए । तर, अन्तिममा निरन्तरको अनुनयविनयपछि चिनियाँ पक्ष भ्रमणबारे संयुक्त वक्तव्य जारी भैसकेको अवस्थामा पनि बीआरआईसम्बन्धी फ्रेमवर्कमा सम्झौता हुन तयार हुनुलाई एमाले पँक्तिले प्रधानमन्त्री ओलीको भ्रमणको जितको रुपमा लिएको छ । चीन भ्रमणमा जानुअघि नै बीआरआईबारे साझा धारणा बनाउनको लागि दुवै दलले होमवर्क गरेका थिए । जसमा कांग्रेसबाट महामन्त्री गगन थापाले नै निर्णायक भूमिका खेलेको चर्चा छ ।

गगनलाई अन्तर्राष्ट्रिय सन्धी तथा सम्झौताका विषयमा पछिल्लो समय सघाउँदै आएका युवा अधिवक्ता सेमन्त दाहालले कार्यदलमै बसेर बीआरआईमा दुई दलबीच समान धारणा बनाउन सहजीकरणको भूमिका निभाएका थिए । प्रधानमन्त्री ओली भ्रमण सकेर नफर्किँदै कांग्रेसमा उक्त सम्झौताको विरोध सुरु भएको थियो । यसरी विरोध गर्नेमा सभापति देउवानिकट प्रभावशाली नेताहरु नै अग्रपँक्तिमा देखिएका छन् । तर, देउवा भने बीआरआई ऋणमा नलिनेगरि सहमति गरेकोमा प्रधानमन्त्री ओलीप्रति खुशी छन् ।

यो पनि पढ्नुहोस्ः संसद्मा पनि कांग्रेस–एमालेले बनाए ८ सदस्यीय संयुक्त कार्यदल, विधेयकहरूमा सहमति खोज्ने
उनले सार्वजनिक रुपमै प्रधानमन्त्री ओलीलाई धन्यवादसमेत दिन भ्याएका छन् । एमालेसँगको सहकार्य र गठबन्धनको भविष्यलाई लिएर देउवा खेमाकै नेताहरु सशंकित बनेको र त्यहीअनुसार अभिव्यक्ति दिएको बेलामा महामन्त्री थापा भने दुई दलबीचको सहकार्य बलियो बनाउन मरिमेटेर लागेका छन् । एमालेसँगको सहकार्यलगत्तै उनले उठाउँदै आएको सहकारी ठगीमा रवि लामिछानेको संलग्नताबारे केश अघि बढ्यो ।

रवि पक्राउ र साँढे दुई महिना हिरासत बसाईपछि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा अघि बढ्दा कांग्रेसमा गगन समर्थकहरुले यसमा थापाको जित भएको भनेर हर्षबढाईं गरिरहेका छन् । सामाजिक सञ्जालमा थापाले रवि समर्थकको बेजोड गाली पाईरहेका छन् । युट्युबरका बेतुकका प्रश्न झेलिरहेका छन् । आफ्नै पार्टीका नेता शेखर कोइराला र उनका नजिकका नेताले रविमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको भनेर टिप्पणी गर्दापनि ती समाचारमा गगनलाई नै बढि गालीगलौज गरिएको छ । तर, थापा विचलित छैनन् । उनी सामाजिक सञ्जालको भीडबाट परै छन् । उनी राजनीतिमा चटके प्रवृत्तिसँग रत्तिपनि डराएका छैनन् । तर्सिएका छैनन् । बरु, ती सबै आलोचनालाई बेवास्ता गर्दै उनी राजनीतिक सुधारको बाटोतर्फ अग्रसर छन् ।

कांग्रेसलाई मात्रै नभएर संसद्को दोस्रो ठूलो दल एमालेलाई आफ्नो योजनामा डोर्याउन सफल भएका छन् । अहिले थापाले संविधान संशोधन प्रक्रियालाई अघि बढाउनको लागि दुई दलबीच कार्यदल बनाएर काम थालेका छन् । उता, सरकारको दैनिक प्रस्तुति नतिजाकेन्द्रित हुनुपर्ने भन्दै त्यसमा कार्यदल बनाएर काम थाल्न लगाएका छन् । दुवै दलका नेतृत्वकर्ताहरु अहिलेको कांग्रेस–एमाले सहकार्य टुट्यो भने देश बर्बादीको बाटोमा जाने भन्दै यसलाई नै अन्तिम विकल्प भनिरहेका छन् । यसरी भन्नेमा कांग्रेसबाट महामन्त्री थापा नै अग्रभागमा छन् ।

अहिलेको गठबन्धन जोगाउन जति आरजुलाई चिन्ता छ, त्यो भन्दा बढि महाचिन्ता गगनले बोकेका छन् । उनी त्यही चिन्ताका साथ वर्तमान गठबन्धनको स्थायित्वको लागि नवीन सोचका साथ खटिएका छन् । पार्टीको १५औं महाधिवेशन आफ्नो राजनीतिक जीवनको लागि महत्वपूर्ण मानेका थापा त्योभन्दा अघि अहिलेको गठबन्धनको निरन्तरता र दुई दलबीच कुनैपनि किसिमको दरार आउन नदिन सचेत भएर लागेका छन् । त्यसको लागि उनले देखिनेगरि दुवै दलका नेतृत्वबीच हस्तक्षेप बढाएका छन् ।

अहिलेपनि सत्ता गठबन्धनका नेताहरुमा थापा नै भोकल हुन् । उनले सरकारको विरोधमा या प्रधानमन्त्री ओलीको विरोधमा अभिव्यक्ति दिए भने अभिव्यक्ति दिएकै दिनदेखि यो सरकारको विरुद्धमा माहोल खडा हुन्छ भन्ने कुरामा देउवा र ओली दुवै नेता सचेत छन् । थापा यतिवेला संविधान संशोधनको एजेण्डासहित बालुवाटार र बुढानिलकण्ठको ओहोरदोहोरमा व्यस्त छन् ।

कांग्रेस सभापति देउवा भने एमालेसँगको सहकार्य लामो नजाने हो कि भन्नेमा सशंकित छन् । पत्नी आरजुलाई सत्तारोहण गराउँदा एमाले पँक्तिले देखाएको हार्दिकता पार्टी राजनीतिमा नहुन सक्नेमा देउवा सचेत छन् । उनले १५औं महाधिवेशनमा आरजुलाई नेतृत्वमा स्थापित गराउन चाहेका छन् । आफ्नो उत्तराधिकारी तोक्न ढिलाई गरिरहेका देउवाले पत्नी आरजुलाई उपसभापति बनाउन चाहेको चर्चा छ । तर, ओलीसँगको सहकार्यमा आफूलाई लाभ होला भन्नेमा उनी ढुक्क छैनन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा भएको बीआरआईसम्बन्धी फ्रेमवर्क सम्झौतामा देउवाको असहमति रहेको गाईंगुईं कांग्रेसभित्रैबाट सुरु भएको छ । एमालेसँगको सहकार्यलाई लिएर अन्तर्राष्ट्रिय समूदायपनि देउवासँग केही रिसाएको चर्चा हुने गरेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि मन्त्री राणाले भारत भ्रमणको क्रममा पाएको सम्मान अनि अहिले डिसेम्बरको तेस्रो सातामा भएको भारत भ्रमणमा कुनै भाउ नपाउनुलाई देउवा दम्पत्तिले नै नमिठो अनुभवको रुपमा लिएको बताईन्छ ।

यतिवेला देउवालाई संसद्मा भएका विपक्षी गठबन्धनका नेताहरुले समेत एमालेसँगको सहकार्य तोडेर आँफै सरकारको नेतृत्व लिन तारन्तार खबर पठाएका छन् । कतिसम्म भने प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले त देउवालाई एमालेसँगको सहकार्य तोडेर नेतृत्व लिन प्रस्ताव पठाएका छन् । दाहालले कांग्रेसलाई सरकारको नेतृत्व लिईदिन सातामा दुई पटक खबर पठाउने गरेको गगनले नै सार्वजनिक रुपमा खुलासा गरेका थिए ।

यद्धपी थापाको उक्त भनाईप्रति प्रचण्डले खण्डन गरेका थिए । एमालेभित्रै प्रधानमन्त्री ओली संकटमा परेको समाचार बाहिरिनु, बीआरआई फ्रेमवर्कमा सहमति हुनु र प्रचण्डलगायत विपक्षी गठबन्धनले सरकारको विकल्प खोज्न निरन्तरको प्रयास गरेको देखेपछि देउवा दम्पत्तिले दबाब महशुस गरेको चर्चा छ । अहिलेको सरकारको आयु देउवाको हातमा छ । उनले आँफै सरकार हाँक्ने मन बनाएको दिन सरकार ढल्ने निश्चित् छ । पत्नी आरजुको भारत भ्रमणपछि देउवा एमालेसँगको सत्ता–सहकार्यबारे नयाँ ढंगले सोच्न आँतुर छन् । file photo



प्रतिक्रिया दिनुहोस्