Logo

सरकारबारे एमालेको समिक्षा : अहिले बाह्य सम्बन्ध सञ्चालनमा प्रगति भएको छ



काठमाडौं, ११ पुष । सत्तारूढ नेकपा (एमाले) ले अहिलेको सरकार गठन भएपछि बाह्य सम्बन्ध सञ्चालनमा प्रगति भएको दाबी गरेको छ । हिजो (बुधबार) बसेको पार्टीको सचिवालय बैठकले यस्तो निश्कर्ष निकालेको हो । एमाले र कांग्रेसको सहकार्य र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकारको पाँचमहिनाको कार्यकालको समीक्षा गर्ने क्रममा यस्तो निश्कर्ष निकालेको हो ।

‘यो पाँचमहिनाको अवधिमा केही महत्वपूर्ण कामहरू अगाडि बढेकामा बैठकले सन्तुष्टी व्यक्त गरेको छ । सँगसँगै सरकारका काममा थप गति ल्याउनुपर्ने, अझ धेरै सुधारका कामहरू अगाडि बढाउनुपर्ने आवश्यकता पनि बोध गरेको छ।’–बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीको भनाई थियो ।

‘वर्तमान सरकार गठनयता अर्थतन्त्रमा सुधार, खासगरी शेयर बजारमा उत्साहका साथै उचाई हासिल भइरहेको, राजश्व सङ्कलन १७ प्रतिशतले बृद्धि भएको, सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन बनेर आयोग गठन हुने प्रक्रियामा पुगेको, बाह्य सम्बन्ध सञ्चालनमा प्रगति भएको छ । पछिल्लो समय चीनसँग भएको बीआरआई कार्यान्वयन फ्रेमवर्कमा हस्ताक्षर, बंगलादेशसँग भएको विद्युत व्यापार र अरु विभिन्न मुलुकसँग भएका सहमतिहरू महत्वपूर्ण छन् । संसदीय समितिको प्रतिवेदनबमोजिम सहकारीका क्षेत्रमा देखापरेका बेथितिहरूका विरूद्ध विनापूर्वाग्रह, निर्ममतापूर्वक कारवाही अघि बढेको छ । संसदीय समितिको प्रतिवेदनको सिफारिश बमोजिम नै सहकारी नियमनका लागि अधिकारसम्पन्न प्राधिकरण बनाउन र सहकारीमा रहेका बेथितिहरूलाई अन्त्य गर्नका लागि बलियो कानुनी आधार तर्जुमा गर्नेगरी कानुन बनाउन अध्यादेश ल्याउने निर्णय सरकारले गरेको छ।’-बैठकपछि ज्ञवालीले भने ।

यसबीचमा सरकारले करिव दशहजार बचतकर्ताहरूको बचत फिर्ता गराउने काम पनि अगाडि बढाएको नेता ज्ञवालीको दाबी छ । उनले भने,‘त्यसलाई अझ तिब्रता दिनुपर्छ भन्ने पार्टीको भनाइ छ । विकासका काममा पनि केही प्रगति भएका र विस्तारै मुलुकले लय लिन थालेको निष्कर्ष बैठकले निकालेको छ । तर यत्तिले पर्याप्त छैन, अझ धेरै गर्नुपर्छ भन्ने सन्दर्भमा यसबीचमा दुई दलका बीचमा बनेको राजनीतिक संयन्त्रले ‘गभन्र्यान्स’लाई प्रभावकारी बनाउन बनाएको योजनालाई बैठकले सकारात्मक रूपमा लिएको छ । त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्छ भन्ने निर्णय बैठकले गरेको छ।’



प्रतिक्रिया दिनुहोस्