Logo

ओली सरकार ढाल्न कांग्रेस नेताहरुले माओवादीसामू प्रस्ताव ल्याएको वर्षमानको खुलासा



काठमाडौं, १२ पुष । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले केपी ओलीको सरकार ढाल्न कांग्रेसका नेताहरुले आफूहरुसमक्ष प्रस्ताव ल्याएको खुलासा गरेका छन् ।

उनले ओली सरकारसँग कांग्रेस र एमालेकै नेताहरु वाक्क हुन थालेको बताउँदै सरकार ढाल्न कांग्रेसबाट प्रस्ताव आएको बताएका हुन् । रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको माओवादीको अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो खुलासा गरेका हुन् ।

उनले भने,‘एमालेका नेताहरु आएर बीआरआई पनि भयो, अब कम्युनिष्टहरु मिलौं भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ । कांग्रेसका नेताहरु आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा–एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ । उहाँहरु विकल्पमा छलफल गरौं भन्न खोज्नुहुन्छ । हामीले रहर गर्नुभएको छ बोक्नुस्, भनिरहेका छौं, तर हामी कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र विचौलियाहरुको स्वार्थमा काम गर्ने सरकार बनाउन चाहँदैनौं । यो हाम्रो प्रतिबद्धता हो ।’

पछिल्लो समय पुनले वर्तमान सरकारको विरोधमा कडा अभिव्यक्ति दिने गरेका छन् । उनले आफूहरु जनताको पक्षमा दृढ भएर काम गर्न लागिपरेको भन्दै आगामी निर्वाचनसम्म सरकारमा नजाने प्रतिबद्धता व्यक्त गरे ।

आज उनी थवाङ गाउँपालिकामा निर्माणाधिन र निर्मित विभिन्न भौतिक पूर्वाधारहरुको अनुगमन गरेको उनको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्