झापा, पुस १३ । झापामा एउटा पाँचतारे होटल थपिएको छ । मेचीनगर नगरपालिका–७ इटाभट्टामा ‘अश्वत्थ’ नामक पाँच तारे होटल थपिएको हो । सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेले होटल ‘अश्वत्थ’मा रु एक अर्ब ३० करोड लगानी भएको बताए। यही सन् २०२५ को जनवरीको पहिलो दिनदेखि होटल सञ्चालनमा आउने उनले जानकारी दिए।
काँकडभिट्टाबाट चार किलोमिटर पश्चिम इटाभट्टामा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको होटल ‘अश्वत्थ’ दुई बिघाह क्षेत्रफलमा फैलिएको छ । मेचीनगर–८ मा अर्को पाँचतारे ‘होटल मेची क्राउन’ बिगतदेखि सञ्चालनमा रहेको छ ।
झापामा अब तीन वटा पाँचतारे दर्जाका पर्यटकस्तरीय होटल भएका छन् । विर्तामोडमा यस्तै पाँचतारे होटल ‘किङ्सबेरी’ पनि सञ्चालनमा छ । अरु दुई वटा पाँचतारे स्तरका होटल झापामा प्रस्तावित छन् । यसप्रकार झापा पाँचतारे होटलको हब बनेको छ ।
केही दिनपछि नै सञ्चालनमा आउने होटल ‘अश्वत्थ’ले पाहुनाका लागि अनलाइन बुकिङ खुला गरिसकेको छ । होटलमा ८४ वटा स्वीट्स र डिलक्स कोठा भएको प्रमुख व्यवस्थापक कुमार कोइरालाले बताए।
होटलमा इन्डोर स्वीमिङ पुल, जाकुजी, स्पा, ब्याङ्केट हल, ध्यान र योग साधनाको सुविधा उपलब्ध रहेको उनले जानकारी दिए। क्यासिनोसमेत होटलमा सञ्चालन हुने भएको छ ।
एसियाका ३२ मुलुकलाई स्थलमार्गबाट जोड्ने एसियाली राजमार्गको निर्माण तीव्रगतिमा भइरहेको कारण नेपालको पूर्वीप्रवेशद्वार मेचीनगरमा पर्यटकीय चहलपहल बढ्ने भएकाले उत्साहित भएर पाँचतारे होटलमा आफुले लगानी गरेको सञ्चालक प्रज्ज्वल घिमिरे बताउँछन् ।
भारतका मुख्य सहरमा दैनिक ४० उडान भरिरहेको बागडोग्रा विमानस्थल र रात्रिकालीन सञ्चालन क्षमता भएको चन्द्रगढी विमानस्थलबाट ३० किलोमिटरभन्दा कम दूरीभित्र रहेको मेचीनगर बाह्य र आन्तरिक पर्यटकका लागि बासस्थान भएको उनले बताए।
“भारतीय, भूटानी र बङ्गलादेशी पर्यटकलाई लक्षित गरी होटल खोलेका हौँ,” उनले भने, “भविष्यमा इन्डोनेसियाको बाली र थाइल्यान्डको बैंककबाट पर्यटक नेपाल घुम्न एसियन हाइवे हुँदै नेपालमा सजिलै आइपुग्ने सम्भावना छ । यही सम्भावना देखेर धमाधम अरु होटल पनि खुलिरहेका हुन् ।” रासस