तनहुँ, पुस १३ । तनहुँको घिरिङ गाउँपालिकामा सिँचाइ सुविधाका लागि खनिएका डिप चार वटा बोरिङ अलपत्र परको छ । घिरिङ गाउँपालिका–४ को करूवाटारलगायतका कृषियोग्य भूमि सिँचाइका लागि खनिएको डिप बोरिङ अलपत्र अवस्थामा पुगेको हो । कृषि क्षेत्रमा गरेको सरकारी लगानी खेर जाने अवस्थामा पुगेको वडा नम्बर ४ का वडासदस्य मनबहादुर रानाभाटले बताए ।
सरकारका विभिन्न निकायको सहयोगमा करूवाटारको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन डिप बोरिङ खनिए पनि बोरिङ सञ्चालनको लागि विद्युत् सेवा पुर्याउन नसक्दा डिप बोरिङ अलपत्र बनेको छ । घिरिङको करूवाटारका खेतीयोग्य जमिनमा सिँचाइ गर्न चार वर्षअघि संघ, प्रदेश र स्थानीय तहको आर्थिक सहयोगमा चार वटा डिप बोरिङ खनिएको थियो तर बोरिङबाट पानी तान्न मोटर सञ्चालनका लागि विद्युत् नहुँदा किसानले सिँचाइ गर्नबाट वञ्चित हुनुपरेको वडासदस्य रानाभाटले जानकारी दिए ।
विद्युत् सेवा नहुँदा बोरिङ प्रयोगमा आउन सकेको छैन”, उनले भने, “लामो समयदेखि बोरिङ सञ्चालन नहुँदा बोरिङमा प्रयोग गरिएको फलाम खिया लागेर नष्ट हुने अवस्थामा पुगेको छ ।” गाउँपालिकाले खनेको एउटा बोरिङमा सोलार प्लान्ट जडान गरेर केही समय पानी निकालिए पनि अहिले सोलार पनि चल्न छाडेको छ । बोरिङ खनिएको स्थानसम्म विद्युत् सेवा पुर्याउन ८५ वटा पोल गाडेर ११ हजार भोल्टेजको लाइनको तारसमेत टाँगिसकिएको छ । विद्युत्को लाइन जडानका लागि कतैबाट पनि पहल नहुँदा किसान सिँचाइबाट वञ्चित भएका छन् ।
उक्त क्षेत्रमा विद्युत् सेवा विस्तारका लागि संघ सरकारसँग पहलकदमी भइरहेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए । केही अघि काठमाडौँ जाँदा ऊर्जामन्त्रीसमक्ष यस विषयमा कुरा राख्दा सकारात्मक आश्वासन पाएको उनले बताए । रासस