काठमाडौं, १३ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गिरिबन्धुको फाइल खुल्ने र त्यस काण्डलाई लुकाउन नदिने बताएका छन् । आज (शनिबार) कञ्चनपुरमा आयोजित ‘खबरदारी तथा पार्टी एकता समायोजन सभा’लाई सम्बोधन गर्दै दाहालले माओवादी बलियो भएपछि भ्रष्टाचारीहरुलाई लखेट्ने प्रक्रिया सुरू हुने उद्घोष गरे ।
उनले भने,‘आउने दिनमा माओवादी पार्टी पार्टी एक नम्बर भयो भने मात्रै भ्रष्टाचारको अन्त्य हुनेछ । देशैभरि माओवादी एकता हुँदैछ । पुष १५ गते म झापा जाँदैछु, केपी ओलीको निर्वाचन क्षेत्रमा हजारौं मान्छे हाम्रो पार्टीमा प्रवेश गर्दैछन् । मलाई विश्वास छ–भ्रष्टाचारको पक्षमा यो सरकारले यति धेरै काम गरेको छ । अब गिरिबन्धुको फाईल खुल्नेछ । त्यसलाई लुकाउन दिइनेछ । ओम्नीमा भएको भ्रष्टाचार पनि खोजिन्छ, वाईडबडीको भ्रष्टाचार फाईल खोलिनेछ । अर्को पटक माओवादी बलियो भने सुशासनको युग सुरु हुनेछ । भ्रष्टाचारीहरुलाई लखेट्ने प्रक्रिया सुरु हुन्छ ।’
सो क्रममा उनले देशमा सुशासनको निम्ति र भ्रष्टाचारको विरुद्ध आफू सरकारको नेतृत्वमा हुँदा एउटा अभियान चलाएकोपनि दाहालले स्मरण गराए । उनले भने,‘मैले आफ्नो १८ महिनाको सरकारको नेतृत्व गरेको अवधिमा सुशासनको पक्ष र भ्रष्टाचारको विरुद्ध राष्ट्रिय रुपमा नै एउटा अभियानको नेतृत्व गर्दै थिएँ । धेरै ठूला पार्टीका ठूला नेताहरु, सचिवहरु, भूमिमाफियाहरु, दलाल र विचौलियाको जत्थापनि भ्रष्टाचारको विरुद्ध मैले थालेको अभियानको निशानामा परेको थियो । माओवादीको अभियानबाट उनीहरु भयभित भए । आतंकित भए । मिटरब्याज पीडितहरुको पक्षमा ऐन बनाएँ । मिटरब्याजको नाममा शोषित गर्नेहरु आतंकित भए । नागरिकताविहीन युावहरुको नागकिरतको समस्या समाधानको लागिपहल गरें । सामाजिक न्यायको दृष्टिकोणलदे सामाजिक सुरक्षा कोषमा आवद्ध गरें । भारत, चीन भ्रमणमा जाँदा ऐतिहासिक महत्वको सम्झौता गरेको थिएँ । १० हजार मेगावाट सम्झौता भयो । नेपाल, भारत र बंगलादेशबीच त्री–देशीय सम्झौता पनि अघि बढेको छ ।’
दाहालले आफ्नो भारत भ्रमणको बेलामा सिमानाको समस्या समाधान गर्नको लागि लिपुलेक, कालापानीको समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलेर कुराकानी भएको पनि स्मरण गराए । उनले भने,‘इतिहासमा पहिलोपटक संयुक्त पत्रकार सम्मेलनमा सिमाको समाधान हल गरिन्छ भनेर मोदीले भन्नुभएको थियो । उहाँले नयाँ इतिहास रचिन्छ भनेर बोल्नुभएको थियो । आउने दिनमा वार्ता र सम्वादको माध्यमबाट सिमा समस्या समाधान हुनेछ ।’
दाहालले आफ्नो तेस्रो प्रधानमन्त्रीत्व कालमा अन्तर्राष्ट्रिय सम्बन्धसमेत राम्रो बनेको र विश्वभरि नेपालको छवि बढिरहेको दाबी गरे । उनले भने,‘नेपाल र चीनबीच परम्परागत नाकाहरु खुलाउने सहमति भयो । विश्वभरि नेपालको छवि बढिरहेको थियो ।’ उनले जलवायु परिवर्तनको क्षेत्रमा पनि आफूले राम्रो काम गरेको भन्दै दुवईमा सम्पन्न कोप–२९ मा आफूले नेपालको पक्षमा लिएको अडान स्मरण गराए । उनले आफू नेतृत्वको सरकारको पालमा भए/गरेका विकास निर्माणको कामबारेपनि चर्चा गरेका थिए ।
दाहालले आफूले अझै दुई-चार महिना सरकार चलाउन पाएको भए पञ्चेश्वर परियोजना अघि बढाउने दाबी गरे । दाहालले ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारको पक्षमा रहेको आरोप लगाए ।