काठमाडौं, १३ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसँग भेट गरेका छन् ।
स्वास्थ्यलाभ गरेर बसेका हमाललाई भेट्न प्रचण्ड आज हमालकै निवास पुगेका हुन् । हमाल मस्तिष्कको नसामा समस्या देखिएपछि भारतमा उपचार गरेर स्वस्थ भई नेपाल आएका हुन् । भारत लैजानुअघि उनको धनगढीकै एक अस्पतालमा उपचार गरिएको थियो ।
सो क्रममा दाहालले श्रिघ स्वास्थ्यलाभको कामना गरेको दाहालका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । प्रचण्ड माओवादीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्न आज कञ्चनपुर पुगेका थिए ।
दाहालले प्रधानमन्त्रीको जिम्मेवारीमा हुँदापनि धनगढीका मेयर हमाल, काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङको प्रशंसा नै गर्ने गरेका थिए । उनले स्वतन्त्र मेयरहरुलाई लोकतन्त्रको बगैंचामा फुलेका सुन्दर फूलको संज्ञा दिएका थिए ।