Logo

शेखरको देश दौडाह : पार्टीमा देउवालाई च्यालेञ्ज, सरकारमा ओलीलाई थ्रेट !



काठमाडौं, १३ पुष । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला यतिवेला देश दौडाहमा छन् । उनी भर्खरै सुदूरपश्चिमको यात्रा सकेर मधेश झरेका छन् । राजनीतिको केन्द्रविन्दुमा रहेका कोइराला आफ्नो विचार खरो ढंगले राख्ने नेतामा चिनिन्छन् । उनी पार्टी सभापति शेरबहादुर देउवाविरुद्धपनि आक्रामक बनेका छन् ।

कोशी प्रदेशमा एकलौटी भेला आयोजनादेखि देउवाको भूगोलमा पुगेर भावी सभापतिको रुपमा आफूलाई चित्रण गर्नुले उनी देउवासँग पार्टीभित्रको हरेक मोर्चामा भिड्न तयार देखिएको छ । यसैपनि उनको गुटमा रहेका महामन्त्री गगन थापा यतिवेला सभापति देउवाको प्रिय बनेको चर्चा छ ।

शेखरले आफू र गगनबीचको सम्बन्धलाई लिएरपनि बेलाबेलामा स्पष्टीकरण दिने गरेका छन् । गगनले पनि १५औं महाधिवेशनमा सभापतिको दाबेदारको रुपमा आफूलाई उभ्याएका छन् । यता, शेखरले त जोसुकै उठेपनि आफू सभापतिको रेसबाट ब्याक हुने क्लियर गरिसकेका छन् । शेखर वर्तमान कांग्रेस-एमाले सरकारको कामकारबाहीलाई लिएर सन्तुष्ट छैनन् ।

उनले स्थायित्वको लागि दुई दलले सरकारमा सहकार्य गरेको भनिएपनि र संविधान संशोधन गर्न भनिएको भएपनि व्यवहारमा त्यस्तो केही नदेखिएको भन्दै सरकारको जमेर आलोचना गरेका छन् । उनले सरकारका गलत निर्णयको खुलेर नै विरोध गर्ने गरेका छन् ।

अहिले उनले सुशासनको इस्यु जोडतोडले उठाउने गरेका छन् । बलियो सरकार हुँदापनि सुशासन कायम गर्न नसक्नु सरकारको असफलता भएको उनको संकेत छ । शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार निरंकुश हुँदै गएको उनको भनाई छ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको बेलामा आफूहरुले विरोध गरेर ओलीलाई रोकेको उनले सार्वजनिक रुपमै खुलाएका छन् ।

आज (शनिबार) मधेश प्रदेशको महोत्तरी पुगेका कोइरालाले मुलुकमा सबैतिर भ्रष्टाचार मौलाएको टिप्पणी गरे । उनले त्यही व्याप्त भ्रष्टाचारका कारण मुलुक विकासमा पछि परेको दाबी गरे । उनले अबको लडाइँ भ्रष्टाचार निर्मूल पारिछाड्ने उद्घोष गरे । त्यसको लागि कांग्रेसी कार्यकर्ता दृढ भएर भ्रष्टाचारविरुद्ध उभिनुपर्ने उनको जोड थियो । उनको भनाई थियो-“भ्रष्टाचारबारे कसैप्रति दोष दिएर आफू उम्कन पाइँदैन । यसलाई जरैदेखि निर्मूल पार्न सबैको सङ्कल्प चाहिन्छ, यो अभिभाराको नेतृत्व प्रजातन्त्रका लागि लामो लडाइँ लडेको कांग्रेसका कार्यकर्ताले गर्नुपर्छ । भ्रष्टाचारले संस्थागत रूप लिएकाले यसविरुद्ध निर्मम सङ्घर्ष आवश्यक छ ।

शेखरले पार्टीभित्र आन्तरिक लोकतन्त्रको वकालत गरेका छन् । सरकारमा रहेको कांग्रेसका मन्त्रीहरुको पर्फर्मेन्सपनि खोजिरहेका छन् । शेखरले १५औं महाधिवेशनलक्षित सक्रियता बढाएको चर्चा भैरहँदा उनले पार्टीभित्र सभापति देउवालाई च्यालेञ्ज गरिरहेका छन् ।

उता, सरकारमा रहेका कांग्रेस र एमालेलाई सही तवरले हिँड्न खबरदारी गरिरहेका छन् । कांग्रेसको भावी सभापति र भावी प्रधानमन्त्रीको रुपमा हेरिएका शेखरको सक्रियताको बारेमा बुढानिलकण्ठमा पनि विमर्श हुन थालेको छ । कांग्रेस र एमालेविरुद्ध आगो ओकलिरहेका प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको निरन्तर भेटवार्ता अनि सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका रवि लामिछानेलाई मध्यराति चितवनबाट कास्की उठाएर लगिएको विषयमा प्रहरीबाट अमानवीय व्यवहार भएको भनेर दिएको अभिव्यक्तिले पनि शेखर दलहरुबीचको सन्तुलन मिलाउन चनाखो बनेर हिँडेको चर्चा छ ।

यसैपनि शेखरले आफूले संसदीय दलको नेताको लागि सधैं गृहकार्य गरिरहेको बताउने गरेका छन् । उनले दलको नेतामा बहुमत जुटाएको दिन देउवालाई विस्थापित गर्ने बताउँदै आएका छन् । ०७९ को निर्वाचनलगत्तै दलको नेताको लागि देउवाविरुद्ध शेखरको आडमा गगनले फाइट गरेका थिए ।

तर, गगन देउवासँग नमिठो हार व्यहोर्न बाध्य भए । शेखर नै उठेको भए देउवासँग टक्कर गर्नसक्दथे भनेर अहिलेपनि चर्चा हुने गरेको छ । देउवासँग पराजित भएका गगनले आफू दलको नेताको लागि सधैं लडिरहने प्रतिक्रिया दिएका थिए । तर, दुई वर्ष बितिसक्दापनि गगनले त्यसको छनक देखाएका छैनन् । बरु, शेखरले संसद्को यही कार्यकालमा देउवालाई दलको नेताबाट विस्थापित गर्न एटेम्ट गर्ने चर्चा छ । अहिले शेखरको आक्रामक प्रस्तुति हेर्दा त्यो दिन छिट्टै नआउला भन्न सकिन्न ।



प्रतिक्रिया दिनुहोस्