कास्की, १४ पुस । कास्कीको माछापुच्छे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ । ‘एहमान फाउण्डेसन’को पाँच करोड सहयोगमा बनेको ‘नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’को आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
दाताको सहयोगबाट बनेको सेवा केन्द्र भवन आमा स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । सेवा केन्द्रको सञ्चालन अब प्रतिष्ठानले गर्ने संस्थापक अध्यक्ष वसन्तराज दवाडीले बताए । सेवा केन्द्रका चारवटा भवन छन् । प्रतिष्ठानको पहलमा स्वीजरल्याण्डका दाताबाट सो सहयोग रकम प्राप्त भएको थियो । सेवा केन्द्रमा ६५ वर्ष उमेरमाथिका असहाय, गरिब तथा विपन्न नागरिकलाई आवासीय सुविधासहित राखिने प्रतिष्ठानका संस्थापक दवाडीले बताए ।
सेवा केन्द्रमा महिला तथा पुरुषका लागि छुट्टाछट्टै भवन छन् । त्यसैगरी एउटा कर्मचारी र भान्छा तथा अर्को भवनमा क्लिनिक तथा पाहुनाका लागि बस्ने व्यवस्था गरिएको छ । गरिब, विपन्न र असहायः वृद्धवृद्धाका लागि लक्ष्य भए पनि सेवा केन्द्रलाई आत्मनिर्भर बनाउन शुल्क तिरेर पनि वृद्धवृद्धा राख्न सकिने संस्थापक दवाडीले बताए । सेवा केन्द्र सञ्चालनका लागि सुरुआती तीन वर्षको सम्पूर्ण खर्च एहमान फाउण्डेसनलेनै बेर्होने बताएको छ ।
संस्थापक दवाडीले भने, “हामीले गरिब तथा असहाय र दिनदुखीका लागि नै आवासीय सेवा केन्द्र सञ्चालनमा ल्याएका हौँ । यसका साथै कसैले शुल्क तिरेर सेवा केन्द्रमा राख्न चाहे पनि राख्न सकिन्छ । सेवा केन्द्रलाई आत्मनिर्भर बनाउन यसबाट मद्दत पुग्नेछ । नहुनेलाई सहयोग गर्ने र पैसा हुनेले तिरेर बस्ने हो ।” सेवा केन्द्रमा आश्रित ज्येष्ठ नागरिकलाई क्लिनिक र फार्मेसीसहितको नर्सिङ सेवा, परामर्श, पुस्तकालयको सुविधा रहेको छ ।
यसैगरी श्रव्यदृश्य प्रयोगशाला, योग र ध्यान गर्ने व्यवस्था मिलाइएको प्रतिष्ठानका सचिव सुवासचन्द्र लम्सालले जानकारी दिए । उनका अनुसार अबको तीन महिनाभित्रमा सेवा केन्द्र पूर्ण रूपमा सञ्चालनमा आउनेछ । सेवा केन्द्र निर्माणका लागि नाना गुरुङ र मोहन गुरुङको स्मृतिमा उनका परिवारका सदस्यहरु कर्र्णबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ, बरबहादुर गुरुङ र शुकमाया गुरुङले चार रोपनी जमिन दान गरेको थियो ।
कार्यक्रममा जग्गादाता तथा एहमान फाउण्डेसनका प्रतिनिधि माथियाज मारिया डोल्डलाई सम्मान गरिएको थियो । आमा स्मृति प्रतिष्ठानले घाचोकमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । रासस