काठमाडौँ, १५ पुस । सन् २०२४ को अन्त्य हुँदै गर्दा विश्वले नयाँ वर्षलाई स्वागत गर्न तयारी गरिरहेको छ । यो वर्षलाई आकार दिने महत्त्वपूर्ण घटनाहरू प्रतिबिम्बित गर्ने यो राम्रो समय पनि हो । सन् २०२४ मा विश्वभरका विभिन्न सङ्कटहरू देखिएको वर्ष थियो । यस वर्ष धेरै ठूला घटना र प्रकोपहरू भए र तिनीहरूको प्रभाव सम्भवतः लामो समयसम्म महसुस गरिने छ ।
सन् २०२४ मा चर्चित केही घटनाहरू यहाँ प्रस्तुत गरिएको छ:
– मध्यपूर्व द्वन्द्व –
सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणबाट भएका घटनाहरू सन् २०२४ मा मध्यपूर्वमा प्रतिध्वनित भएका छन् । इजरायलले गाजामा आफ्नो युद्ध जारी राख्यो । इजरायलको आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीहरूको सङ्ख्या अहिले ४५ हजार नाघेको छ र उत्तरी गाजा अनिकालको सङ्घारमा छ ।
इजरायलले हमासका नेता र अक्टोबर ७ मा मुख्य योजनाकार याह्या सिनवारको हत्यासहित धेरै रणनीतिक विजय प्राप्त ग¥यो । यद्यपि यसको रणनीतिक उद्देश्य–हमासलाई पराजित गर्नु–अधुरो नै रह्यो ।
अप्रिलमा इजरायलले दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा बम प्रहार गरेपछि इरानले इजरायलमा अभूतपूर्व मिसाइल र ड्रोन आक्रमण ग¥यो । इजरायलले अमेरिका र पश्चिमी सहयोगका साथ आक्रमणलाई पराजित गर्यो। इजरायलले इरानको हवाई रक्षामा सीमित हवाई आक्रमण गरेर जवाफ दियो ।
इजरायलले जुलाईमा तेहरानमा नयाँ इरानी राष्ट्रपतिको उद्घाटनमा सहभागी भएका हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्या गरेको थियो । दुई महिनापछि इरानले इजरायलमाथि अर्को क्षेप्यास्त्र आक्रमण गरेर जवाफ दियो । अक्टोबरको अन्त्यमा इजरायलको जवाबी हवाई आक्रमणले इरानको क्षेप्यास्त्र उत्पादनलाई कमजोर बनायो र यसको हवाई सुरक्षालाई ध्वस्त बनायो ।
सेप्टेम्बरको मध्यमा इजरायलले उत्तरी इजरायल विरुद्ध मिसाइल र रकेट आक्रमण गरिरहेको हिजबुल्लाहलाई एक गोप्य अपरेसनसँगै सजाय दियो । यस घटनामा दर्जनौँ हिजबुल्लाह कार्यकर्तालाई मार्न विस्फोटक पेजरहरू प्रयोग गरिएको थियो ।
दुई हप्तापछि इजरायली हवाई आक्रमणमा लामो समयदेखिका हिजबुल्लाहका नेता हसन नसरल्लाह मारिए । त्यसपछि इजरायली स्थल सेनाले दक्षिणी लेबनानमा आक्रमण गरी हिजबुल्लाह सेनालाई पछाडि धकेलेको थियो ।
हमास र हिजबुल्लाहको कमजोरीले सिरियामा टर्की समर्थित सेनाहरूलाई डिसेम्बरमा बशर अल–असदको सरकारलाई अपदस्थ गर्ने अवसर सिर्जना गर्यो ।
दुई महिनाको खुला युद्धपछि लेबनानमा नोभेम्बर २७ मा एउटा नाजुक युद्धविराम लागु भयो ।
– बशर अल–असदको पतन –
सिरियामा इस्लामवादी विद्रोही समूह हयात ताहरिर अल–साम (एचटिएस) द्वारा नोभेम्बर २७ मा सुरु गरिएको ११ दिनको अप्रत्याशित आक्रमणपछि राष्ट्रपति बशर अल–असद देशबाट मस्को भाग्न बाध्य भए ।
दमास्कसको पतनको एउटा प्रतीकात्मक क्षण कुख्यात सेदनया जेलबाट कैदीहरूको रिहाइ थियो । राजधानीको उत्तरमा रहेको त्यो जेल विशेष गरी २०११ मा सिरियाको गृहयुद्ध सुरु भएदेखि असद वंशको ५० वर्षको शासनअन्तर्गत यातना र मृत्युदण्डको प्रतीक थियो ।
देशको इस्लामवादी नेतृत्वको सरकारले देशमा रहेका अल्पसङ्ख्यक र विदेशमा रहेका सरकारहरूलाई सबै सिरियालीको सुरक्षा गर्ने आश्वासन दिन खोजेको देखिन्छ । यद्यपि अलकायदासँगको सम्बन्धका कारण अन्तर्राष्ट्रिय समुदायले नयाँ सरकारको गतिविधिलाई ध्यानमा राख्दै तत्काल सिरियामाथि लगाइएको प्रतिबन्ध हटाएका छैनन् ।
असदको निष्कासनपछि देशको हतियारहरू अन्तरिम सरकारको हातमा पर्नबाट रोक्न चाहेको भन्दै इजरायलले सिरियाको सैन्य स्थलहरूमा सयौँ आक्रमण गरेको छ ।
इजरायलले गोलान हाइट्समा संयुक्त राष्ट्र–नियन्त्रित बफर जोन पनि कब्जा गरेको छ ।
– रुस–युक्रेन द्वन्द्व –
सन् २०२२ फेब्रुअरी २४ मा रुसको आक्रमणपछि युक्रेनले अगस्टमा रुसको कुस्र्क क्षेत्रमा आश्चर्यजनक आक्रमण सुरु ग¥यो । यद्यपि युक्रेन पूर्वी युक्रेनमा लडाइँबाट मस्कोको सेनालाई विचलित गर्ने आफ्नो लक्ष्यमा असफल भएको छ ।
रुसले घातक आक्रमणका साथ जवाफ दियो । किएभको सेना विशेषगरी पूर्वी डोनबास क्षेत्रमा रूसी सेनाको स्थिर प्रगति रोक्न सङ्घर्ष गरिरहेको छ ।
नोभेम्बरमा युक्रेनले अमेरिका र बेलायतको स्वीकृति पाएपछि पहिलो पटक रूसी भूभागमा पश्चिमबाट आपूर्ति गरिएको लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरेको थियो ।
रुसले युक्रेनलाई आणविक वारहेड बिना हाइपरसोनिक ओरेसनिक मिसाइलले प्रहार गरेर जवाफ दियो । साथै किएभले पश्चिमी हतियारले आक्रमण जारी राखे त्यस्ता आक्रमणहरू जारी राख्ने प्रतिबद्धता व्यक्त गर्यो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनीहरूलाई हतियार उपलब्ध गराउने देशहरूमा आक्रमण गर्ने धम्की समेत दिएको छ ।
नोभेम्बरको अन्त्यमा रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो आक्रमण ग¥यो । हालैका सातामा रुसले दक्षिणी युक्रेनमा आक्रमणहरू बढाउँदा यस क्षेत्रमा नयाँ रूसी आक्रमणको डरलाई बलियो बनाएको छ ।
– युरोपेली युद्धमा उत्तर कोरियाली सैनिक –
यस वर्ष ११ हजारभन्दा बढी उत्तर कोरियाली सैनिकको तैनाथीले रुस–युक्रेन युद्धलाई वास्तवमै विश्वव्यापी सङ्घर्षमा परिणत ग¥यो ।
उत्तर कोरियालीहरू पहिले भाषा सिक्न र आफ्ना नयाँ साथी सैनिकहरूको सञ्चालन कार्यप्रणाली बुझ्न रुसी अड्डाहरूमा तालिमका लागि तैनाथ भएका थिए ।
रुसको कुर्स्क प्रान्तमा युक्रेनी फौजलाई पछि धकेल्ने प्रयास गर्दै वर्षको अन्तिम साताहरूमा तिनीहरू युद्धमा होमिए । युक्रेन र अमेरिकी अधिकारीहरूका अनुसार सयौँ उत्तर कोरियाली सैनिक लडाईंमा मारिए वा घाइते भएका छन् ।
– सुडान गृहयुद्ध –
सन् २०२३ अप्रिलमा सुडानमा सुरु भएको गृहयुद्ध सन् २०२४ मा निरन्तर जारी रह्यो । लडाइँले जनरल अब्देल फताह अल–बुरहानको नेतृत्वमा सुडानी सशस्त्र बल (एसएएफ) लाई मोहम्मद हमदान ‘हेमेदी’ दागालोको नेतृत्वमा रहेको र्यापिड सपोर्ट फोर्स (आरएसएफ) मिलिशिया विरुद्ध खडा गरेको छ ।
यी दुई व्यक्तिले अक्टोबर २०२१ मा एक विद्रोहमा संयुक्त रूपमा सत्ता कब्जा गरेका थिए । दुई दशकअघि डार्फर नरसंहारका लागि जिम्मेवार कुख्यात आरएसएफले सुडानको राजधानी खार्तुम र डार्फरको धेरैजसो नियन्त्रण कब्जा ग¥यो ।
सेप्टेम्बरको अन्त्यमा एसएएफले खार्तुमलाई पुनः प्राप्त गर्न ठूलो आक्रमण सुरु ग¥यो । तिनीहरूले सहरका केही भागहरू पुनः कब्जा गरे तर आरएसएफ सेनाहरूलाई पूर्ण रूपमा हटाउन असफल भए ।
लडाइँ सुरु भएपछि सुडानी जनताले दुःख भोगेका छन् । मृत्युको सही सङ्ख्या अज्ञात छ । मृतकको सङ्ख्या २० हजार पुगेको अनुमान गरिए पनि युद्धसँग सम्बन्धित रोग र भोकमरीलाई समावेश गर्दा यो सङ्ख्या ६० हजारभन्दा बढी वा अझ बढी हुनसक्छ । डार्फरमा अनिकाल घोषणा गरिएको छ ।
द्वन्द्वले लगभग पाँच करोड कूल जनसङ्ख्यामध्ये करिब एक करोड १० लाख मानिसलाई विस्थापित गरेको छ । एसएएफ र आरएसएफ दुवैलाई लडाइँ जारी राख्न सक्षम बनाउने शक्तिशाली बाह्य समर्थकहरू रहेकाले दुवैले आफू विजयी हुने विश्वास गर्छन् ।
– ट्रम्पको पुनरागमन –
डोनाल्ड ट्रम्पले एक पटक फेरि विश्वलाई स्तब्ध पारे । अमेरिकी राष्ट्रपति चुनाव जित्नका लागि धेरै कडा दौडको प्रक्षेपणलाई उनले गलत साबित गरे ।
चुनावी अभियानबाट पछि हटेका राष्ट्रपति जो बाइडेनको स्थानमा उम्मेदवारी दिएकी डेमोक्रेट कमला ह्यारिसलाई ट्रम्पले सजिलै पराजित गरे ।
चार अभियोग र आपराधिक सजायको सामना गर्ने ७८ वर्षीय ट्रम्पमाथि दुई असफल हत्या प्रयास भएका थिए । ट्रम्प सन् २०२५ जनवरी २० मा ह्वाइट हाउस फर्किने छन्।
अमेरिकामा ट्रम्पको विजयले ‘अमेरिका पहिलो’ को पुनरुत्थानका साथसाथै अमेरिकालाई धेरै अन्तर्राष्ट्रिय संस्थाहरूबाट फिर्ता लिने सम्भावना छ । ती संस्थाहरूलाई ट्रम्पले अमेरिकी करदाताहरूको पैसा खाएको ठान्छन् ।
– जलवायु प्रकोप –
मौसम लगातार तातो हुँदै गइरहेको छ । वैज्ञानिकहरूले दशकौँदेखि जीवाश्म इन्धनको हाम्रो लतले जलवायु परिवर्तन गर्ने चेतावनी दिँदै आएका छन् । तथ्यहरूले तिनीहरूलाई समर्थन पनि गरेको छ ।
वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर बढ्दै गएको छ । सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्षको रूपमा तल जानेछ । सन् २०२४ मा पहिलो पटक औसत विश्वव्यापी तापमान पूर्व–औद्योगिक समयको तुलनामा १।५ डिग्री सेल्सियस बढी थियो । सन् २०१५ को पेरिस सम्झौताले विश्वलाई स्थायी रूपमा त्यो स्तर उल्लङ्घन गर्नबाट रोक्न खोजेका बेला यो खतरनाक सङ्केत हो कि ।
बदलिँदो मौसमका केही परिणामहरू देखिएका छन् । सन् २०२४ को पहिलो १० महिनामा संयुक्त राज्य अमेरिकामा मौसम सम्बन्धी आएका २४ वटा प्राकृतिक प्रकोपले कम्तीमा एक१ अर्ब डलरको क्षति पुर्याएको थियो । रेकर्ड खडेरीले उत्तरी दक्षिण अमेरिकालाई तहसनहस पारेको छ । विश्वको सबैभन्दा ठूलो नदी प्रणाली अमेजनका केही भाग सुकेको छ ।
आप्रवासनको अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) का अनुसार पश्चिम र मध्य अफ्रिकामा असामान्य रूपमा तीव्र वर्षाको मौसममा एक हजार पाँच सयभन्दा बढीको मृत्यु भएको छ ।
सेप्टेम्बरमा हेलेन नामको आँधीले दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा प्रहार ग¥यो । टाइफुन क्राथन ताइवानमा ठोक्कियो र आँधी बोरिसले मध्य युरोपमा बाढी र विनाश ल्यायो ।
टाइफुन यागी र बेबिन्काले एसियामा विनाश निम्त्यायो । अक्टोबरमा विनाशकारी भूमध्यसागरीय आँधीले पूर्वी स्पेनमा प्रहार गर्दा यसले दशकहरूमा यसको सबैभन्दा खराब बाढी निम्त्यायो र दुई सय ३० भन्दा बढी मानिसको मृत्यु भयो ।
डिसेम्बरमा चक्रवात चिडोले फ्रान्सेली ओभरसिज क्षेत्र मायोट्टलाई ध्वस्त पारेको थियो ।
जलवायु सम्बन्धी वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन कोप २९ ले विकासशील देशहरूलाई उत्सर्जन कटौती र जलवायु अनुकूलनका लागि आर्थिक सहयोग गर्नमा केही मात्र प्रगति गर्न सकेको छ । रासस