महोत्तरी, १४ पुष । नेपाली कांग्रेसका उपसभापति एवम् पूर्वमन्त्री धनराज गुरूङले अहिले देशमा घुसखोरी, कमिशन र भ्रष्टाचार मौलाएको भन्दै यसलाई रोक्नुपर्ने बताएका छन् । उनले घुसखोरी र कमिसनखोरी न्यूनीकरण गर्न ५ सय र १ हजारका नोट तत्काल बन्द गर्नुपर्ने प्रस्ताव गरेका छन् । आज (आइतबार) महोत्तरीको जलेश्वरमा आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले हजार र पाँच सयको नोट बन्दीको माग गरेका हुन् ।
उनले अहिले आर्थिक अवस्था कमजोर बनेको टिप्पणी गरे । उनले भने,‘देशको आर्थिक अवस्था जर्जर भएर लोकतन्त्र खतरामा रहेको छ, सुशासन कायम हुन नसक्ने, देश बन्न नसक्ने भएकाले दोस्रो पाइलाका रूपमा देशमा चलनचल्तीमा रहेका ठूला नोट तुरुन्त बन्द गरिनुपर्छ ।’