काठमाडौं, १४ पुष । प्रधानन्त्री केपी शर्मा ओलीले कांग्रेसको साथ लिएर सत्तारोहण गरेको पाँच महिना नाघिसकेको छ । प्रधानमन्त्री बनेकै दिनदेखि ओलीले आफूले कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्तिसँग भएको ७ बुँदे सहमतिअनुसार सत्ता हस्तान्तरण गर्ने मिति दोहोर्याउँदै आएका छन् । यो क्रम आजको दिनसम्मपनि जारी छ ।
प्रधानमन्त्रीको रुपमा यो तेस्रो कार्यकाल सुरु गर्दाखेरि दुई दलबीचको सहकार्यको औचित्य पुष्टि गर्न ओलीले धेरै नै समय खर्चिने गरेका छन् । त्योभन्दा बढि उनले देउवालाई सत्ता बुझाउने मितिको रटान लगाउने गरेका छन् । हुनपनि यो सरकारको आयु अहिलेको परिदृश्य हेर्दा देउवा दम्पत्तिको मूडमा भर परेको छ । देउवाले चाहेकै दिन सरकार ढल्छ भन्नेमा ओलीमात्रै नभएर सिंगो एमाले पँक्ति ढुक्क छन् ।
संसदीय राजनीतिमा दुई ठूला दल मिलेर सरकार बनाउने कुरा अपवाद हो । त्यही अपवादको राजनीति नेपालमा जारी छ । यस्तोमा प्रधानमन्त्री ओलीले सहज रुपमा सत्ता सञ्चालन गर्न नसक्नु नौलो होईन । प्रधानमन्त्री ओलीले पहिलो विदेश भ्रमण चीनबाट सुरु गरे । चीन निस्किनुअघि बीआरआईको जटिलताले दुई दलबीचको सहकार्य नै धर्मराएको थियो । बीआरआई कुनैपनि हालतमा ऋणमा स्विकार गर्न नहुने कांग्रेसको संस्थागत निर्णय छ । त्यही सम्झाउँदै ओलीलाई बीआरआई ऋणमा सम्झौता नगर्न कांग्रेसको दबाब थियो । तर, बेईजिङ पुग्दासम्म ओलीले चलाखीपूर्ण कदम चाले ।
बीआरआई फ्रेमवर्कमा ढिलोगरि सहमति भयो । उक्त सहमतिलाई लिएर कांग्रेसमा सभापति देउवाकै पँक्ति असन्तुष्ट बन्यो । नेताहरुले सार्वजनिक रुपमै सम्झौताको दस्तावेज सार्वजनिक नहुँदै आलोचना सुरु गरे । प्रधानमन्त्री ओलीले चीनबाट फर्किएकै दिन एयरपोर्टमा बीआरआई फ्रेमवर्क सम्झौता ऋण नभएको भन्दै अब ऋणको रटान नलगाउन मिडियासामू रिस पोखे ।
अहिले प्रधानमन्त्री ओलीले भारत भ्रमणको लागि मन बनाएका छन् । तर, भारतीय पक्ष त्यसको लागि तयार छैनन् । जुनक कुरा परराष्ट्रमन्त्री डा. आरजु राणाको भारत भ्रमणले प्रष्टै पारिसकेको छ । आरजु नयाँ दिल्लीबाट नमिठो अनुभव सँगालेर नेपाल फर्किएको भर्खरै एक साता भयो । यो बीचमा प्रधानमन्त्री ओलीले नेपालका लागि पाकिस्तानका राजदूतसँग भेटवार्ता गरेर पाकिस्तान भ्रमणमा जाने सूचना प्रवाह गराए । यसले भने नेपाली कांग्रेसको नेतृत्व पँक्ति झस्किएको छ । भारतविरुद्ध कुनै कार्ड खेल्न नहुनेमा कांग्रेस नेताहरु एकमत छन् ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले भारतले भ्रमणमा नबोलाएको झोंकमा पाकिस्तान भ्रमण गर्न लागेको भनेर समाचार पनि बाहिरिएका छन् । पार्टीभित्रपनि दबाबमा रहेका प्रधानमन्त्री ओली सत्ताको संकट व्यहोर्नुपर्ने दिन नजिकिएको आभाषका साथ अबको कदमको तयारीमा जुटेका छन् । उनले कांग्रेससँगको सहकार्य तोडिने अवस्था आए अहिले समिकरणलाई कायम राख्नको लागि देउवालाई सत्ताको चाबी बुझाउनसम्म तयार भएको चर्चा छ । प्रधानमन्त्री ओलीले देउवा दम्पत्तिलाई यो विषयमा खुलाखुलस्त भनिसकेको उच्च स्रोतको दाबी छ ।
सरकारको गति र मति दुवै ठीक नभएको भेनर कांग्रेसकै नेताहरुबाट आलोचनाको वर्षा हुन थालेको छ । शेखर कोइराल समूहले त जुन उद्देश्यले सरकार बनेको हो त्योअनुसार चल्न नसकेको भनेर सार्वजनिक रुपमै यो सरकारको आलोचना गरिरहेका छन् । विपक्षी दलहरु पनि प्रधानमन्त्री ओली र एमाले पँक्तिसँगमात्रै आक्रामक बनेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आलोचना र आरोपको निशानामा ओलीमात्रै परिरहेका छन् ।
उनले कांग्रेससँग भनेर सफ्ट नीति लिएका छन् । उता, सहकारी ठगीलगायत विभिन्न तीन वटा मुद्दा खेप्दै प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेपनि ओलीसँग फायर छन् । उनी आवश्यक परे कांग्रेससँग सहकार्य गर्न तयार रहेको र त्यहीअनुसारको मेसेज बुढानिलकण्ठ प्रवाह गरिरहेको छन् । माधव नेपालले समेत ओलीलाई सरकारबाट विस्थापित गर्नको लागि देउवालाई बारम्बार फकाईरहेको चर्चा छ ।
राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय अवस्थाको कारण ओलीले छिट्टै सत्ताबाट बहिर्गमनको बाटो लिनुपर्ने हुनसक्ने कुरा राजनीतिक वृत्तमा चर्चा छ । यस्तोमा ओली आफूले छोड्न परे देउवालाई नै सरकारको नेतृत्वमा स्थापित गर्ने र दुई दलबीचको सहकार्य ०८४ को निर्वाचनसम्म कायम गर्न चाहन्छन् । file photo