Logo

नेपालका नेताहरू विदेशीको ईशाराबिना श्वाँस फेर्न सक्ने अवस्थामा छैनन् : प्रभु साह



काठमाडौं, १४ पुष । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाको बुईं चढेर नेपाली जनतालाई तर्साउन खोजेको आरोप लगाएका छन् । उनले देउवा दम्पत्तिको बुईं चढेर दुनियाँलाई नतर्साउन ओलीलाई चेतावनी दिए ।

आम जनता पार्टीको दोस्रो स्थापना दिवस समारोह–२०८१ लाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री साहले अहिलेको सरकार नै पवित्र उद्देश्यले नबनेको आरोप लगाए । साहले भने,‘अहिलेको यो सरकार अनैतिक र अप्राकृतिक छ । हामी यसको अन्त्य चाहन्छौं । केपी ओलीले देउवा दम्पत्तिको बुँई चढेर दुनियाँलाई तर्साउन खोजिरहेका छन् । अपवित्र बाटोबाट देशलाई अन्धकारमा धकेल्न खोजिरहेका छन् । कांग्रेस पार्टी त्यस्तो थिएन । विपीको विचार बोकेको कांग्रेस पार्टी त्यसो गर्न सक्दैन् । मदन भण्डारीको लिगेसी बोकेको एमालेले त्यसो गर्ने सोच्नै सकिँदैन । तर, अहिले ओली एण्ड देउवा कम्पनीको सरकार छ । यसले देशलाई गलत दिशा दिइरहेको छ ।’

सो क्रममा अध्यक्ष साहले अहिले दलाल दलतन्त्र हाबी भएकोले देश दूरावस्थामा गुज्रिरहेको टिप्पणी गरे । तर, आफूहरुको नेतृत्वको आन्दोलनले नेपालमा छिट्टै दलाल दलतन्त्रको अन्त्य हुने र आम जनता शासक एवम् मालिक बन्ने विश्वास व्यक्त गरे ।
उनले भने,‘आज नेपाल संकटबाट गुज्रिरहेको छ । सत्ता स्वार्थको अपवित्र, अनैतिक राजनीतिले जनता निराश छन् । जनता उकुमुकुसको अवस्थामा छन् । देशमा बढ्दो अस्थिरताको कारण देशकै अस्तित्व संकटमा परेको कुरा हामीले हेरिरहेका छौं । नेपाली जनताले अहिले देशमै भविष्य देख्न छाडे, हाम्रा युवाहरु विदेश पलायन हुँदैछन् । कुनै समय यस्तो थियो नेपालीहरु नेपालप्रति गौरव गर्दथे । अहिले विदेशी नागकिरता लिनेहरु गौरव गर्ने अनि यही देशमा बस्नेहरु पछुताउने अवस्था निर्माण भएको छ ।’

साहले नेपालका ठूला भनाउँदा नेताहरु विदेशीको इशारामा चलिराखेको गम्भीर आरोप लगाए । उनले भने,‘नेपालका नेताहरु विदेशीको ईशाराबिना श्वाँसपनि फेर्न सक्ने अवस्थामा छैनन् । वैदेशिक हस्तक्षेप बढ्दो छ ।’

नेपालको विगत गौरव गर्नलायक भएपनि अहिलेका चोर नेताको कारण देशको अस्तित्व नै संकटमा पर्न थालेको साहको चिन्ता छ । उनले भने,‘इतिहासले भन्छ–नेपाल कहिल्यैपनि कसैको गुलाम भएन । कुनैपनि साम्राज्यवादीको उपनिवेश भएन । नेपालले एक स्वतन्त्र हैसियत बनाईराखेको थियो । तर, नेपालका दलाल नेताहरुको कारण अहिले देशकै अस्तित्व संकटमा छ । गौतम बुद्धको भूमि, यो देशले कुनै बेला पूरा विश्वलाई ज्ञान, ध्यान अनि दर्शन दिन्थ्यो । यो देव भूमि, तपस्याको भूमि । नेपाल आज विदेशीबाट गाईडेड छ । नेपालका नेताहरुको कुकर्मको कारण नेपाल आज लज्जित भएको स्थिति छ । हाम्रो पूर्वजले निर्माण गरेको गौरवलाई हामी फेरि माथि उठाउन सक्छौं । चोर नेताको कारण धुमिल भएको देशको इमेज फेरि बढाउन सक्छौं । नेपाली धर्ती गौरवशाली थियो । विदेशीहरु यो धर्ती टेक्नसाथ नतमस्तक हुन्थे । तर, आज यहाँका नेताहरुको कारण हामी लज्जित भएका छौं । नेपालीहरुको शीर निहुरिएको छ । अहिले त हरेक नेपाली विदेश जाने बहाना खोजिरहेका छन् । तर, म यो समारोहमार्फत तपाईंहरुलाई साक्षी राखेर भन्न चाहन्छु–हामी नेपालको गौरव बढाउँछौं ।’

उनले अहिलेको व्यवस्थाले सही निकास नदिने भन्दै यसको अन्त्य आफूहरुले चाहेको र संघर्षको मैदानमा होमिएको स्मरण गराए । उनले थपे,‘हामी नेपालको परिवर्तनको लागि धेरै लड्यौं । राजनीतिक आन्दोलन गर्यौं । नेपाल समृद्ध होस, जनतापनि समृद्ध होउन् भनेका थियौं । तर, यो भागबण्डाको राजनीतिले देश बर्बाद हुँदैछ । जनता लाचार छन् । नेपालको व्यवस्था गलत छ । नेता गलत छन् । त्यसलाई अन्त्य गर्न चाहन्छौं । गलत व्यवस्थालाई फाल्छौं । नेपाली जनतालाई मालिक बनाउँछौं ।’

उनले अहिले ‘एउटा राजालाई हटाएर दर्जनौं राजा बनेका’ आरोप लगाए । उनले भने,‘हिजो राजाका आसेपासेले रा जगर्दथे, तर आज नेताका आसेपासेले राज गर्छन् । नेपाली जनता यतिवेला निराश छन्, उनीहरुलाई उत्साही बनाउँछौं । आजको यो ऐतिहासिक समारोह तेस्रो जनआन्दोलनको उद्घोषको दिनपनि हो । नेपालका नेताहरु गलत भएकै कारण आज देशमा यो बर्बादी भएको छ । म भन्छु–नेपाली जनता बहादुर छन् । सक्षम छन् । बरु, देशमा गलत नेतृत्व अनि गलत व्यवस्था छ । गलत राजनीति छ । हामी यसको अन्त्य चाहन्छौं । हामी चान्छौं पवित्र राजनीति होस । नैतिक राजनीति होस । देशमा सही व्यवस्था होस । नेपालमा त पटक पटक आन्दोलनमा त्याग, बलिदानी र समर्पण गर्नेहरुप्रति घात भयो । उनीहरुप्रति बेईमानी भयो । अब बेइमानहरुलाई तह लगाउने दिन आइसकेको छ ।’

०७९ को निर्वाचनमा कांग्रेस र एमाले विपरित धारको नेतृत्वमा भएपनि निर्वाचनपछि गठबन्धन गर्नु गलत भएको उनको टिप्पणी छ । उनले भने,‘मिल्नु नै थियो भने चुनावमा किन विपरित गठबन्धन बनाएको ? जब चुनाव गराउनुभयो भने जनादेशको इमानदारीतापूर्वक पालना गर्नुपर्दथ्यो । अहिलेको राजनीति सही थिएन ।’ उनले हिजो संविधानसभाबाट संविधान जारी गर्दापनि लेनदेन र भागबण्डाको राजनीतिले नहुने कुरा लेखिएको साहको आरोप छ । उनले आजपाले अहिलेको व्यवस्थालाई बदलेर नयाँ व्यवस्था ल्याउने उद्घोष गरे । उनले अहिले सरकारपिच्छे कर लगाईएको आरोप लगाए ।

उनले अरु देशमा दुई तहमा कर लगाईएको भएपनि नेपालमा तीनै तहले जनतामाथि कर लादेको भन्दै आक्रोश पोखे । भारतमा जम्मा १४ शीर्षकमा कर लिने गरिएको भएपनि नेपालमा स्थानीय सरकार (महानगर) ले मात्रै १४ भन्दा बढि शीर्षकमा कर लिने गरेको उदाहरण पेश गरे । नेपालमा करको दायरा र दर दुवै बढि भएको भन्दै सच्याउनुपर्ने उनको सुझाव छ ।

उनले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे–‘केपी ओलीजी, तपाईं नैतिकवान नेता हो भने कर लिने अधिकार कसरी राख्नुहुन्छ ? तपाईंका मातहतका उद्योग आज बन्द छन् । तपाईं सक्षम हो भने किन सरकारी उद्योग चलाउन सक्नुभएन ? यदि सरकारी उद्योगमा घाटा हुन्छ भने व्यक्तिको उद्योगमा कसरी नाफा हुन्छ ओलीजी ? मलाई जवाफ दिनुहोस ।’

उनले सरकारका मातहत रहेका सबै सरकारी संस्थानहरुको हालत खराब रहेको र सबै घाटामा रहेको तथ्यांक सुनाए । उनले खाद्य संस्थान, साल्ट ट्रेडिङ, साझा बस, नेपाल एयरलाईन्स, नेपाल आयल निगम, रेलवे सबैको अवस्था खराब रहेको चित्रण गरे । उनले सरकारले आफ्ना उद्योग, धन्दा र संस्थान घाटामा चलाएर निमुखा जनता र साना तथा मझौला व्यवसायीहरुसँग कर लिने नैतिकता नराख्ने टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्