काठमाडौं, पुस १५ । अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ । कार्टर सेन्टरले जारी गरेको विज्ञप्ति अनुसार पूर्वराष्ट्रपति कार्टरको आइतबार जर्जियास्थित आफ्नै घरमा १०० वर्षको उमेरमा निधन भएको हो ।
कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९ औं राष्ट्रपति थिए । सय वर्ष बाँचेर कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति पनि बनेका थिए । उनको निधनमा अमेरिकी राष्ट्रपति जो बाइडनले शोक व्यक्त गरेको बीबीसीले जनाएको छ ।
विज्ञप्ति जारी गर्दै उनले लेखेका छन्, ‘अमेरिका र विश्वले एक असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी गुमाएको छ ।’ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।