काठमाडौं, पुस १५ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सर्वदलीय सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताएका छन् । आज नेकपा (एमाले) दाङ प्रचार तथा प्रसार विभागले आयोजना गरेको नेपाल पत्रकार महासंघमा निर्वाचित कार्यसमितिलाई सम्मान तथा साक्षात्कार कार्यक्रम पदाधिकारी विजयी कार्यसमितिलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्ने उनको भनाई रहेको छ । “संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने काँग्रेस–एमालेको तयारी सुरु भएको छ”, महासचिव पोखरेलले भने, “संविधान संशोधनको मुद्दा झिकेर अस्थिरता पैदा गर्ने खेल हुन सक्छ । परिस्थिति परिपक्व नहुँदासम्म संविधान संशोधनको काम अघि बढ्न सक्दैन ।”
तीन तहका सरकारको कामलाई प्रभावकारी बनाउनेगरी संरचना सुधार, अधिकारमा स्पष्टता र कानुन सुधार गरेर जान सक्ने बारेमा समेत गृहकार्य गरिरहेको उनले बताए । यस्तै नयाँ भन्ने बित्तिकै विकल्प हुन नसक्ने भन्दै पोखरेलले राजनीति घाम छाँया नरहेको बताए । सरकारमा सहभागी दुई प्रमुख पार्टी काँग्रेस र एमालेलाई असफल हुने छुट नरहेको दाबी गर्दै उनले निराशा चिर्दै समृद्ध मुलुकको सङ्कल्प पुरा गर्ने दिशामा सरकार लागिपरेको बताए।।