Logo

दाङको विकास निर्माणले गति लिएको शंकर पोख्रेलको दाबी, ‘ओली सरकार सबै क्षेत्रमा सफल’



काठमाडौं, १५ पुष । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले दाङको विकास निर्माणले गति लिएको दाबी गरेका छन् । नेकपा ९एमाले० दाङ जिल्ला कमिटी, प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको नेपाल पत्रकार महासंघमा निर्वाचित कार्य समितिलाई सम्मान तथा साक्षात्कार कार्यक्रममामा पोख्रेलले यस्तो दाबी गरेका हुन् ।

उनले भने,‘दाङको विकास निर्माणले गति लिएको छ । नेपालको आफ्नै स्रोतबाट फोरलेन सडक विस्तारको काम सुनिश्चित भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सबै हिसाबले उत्कृष्ट बनाउन भूमिका बढेको छ । चारसय बेडको नयाँ अस्पताल बनाउने योजना अघि बढेको छ । तुलसीपुरमा टरिगाउँ एयरपोर्टलाई बिस्तार गर्ने काम अघि बढेको छ । लमही–घोराही सडक निर्माणका लागि ठेक्का लागेको छ ।’

सरकारमा सहभागी दुई प्रमुख दल कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको बताउँदै उनले निरासा चिर्दै समृद्ध मुलुक निर्माणको सङ्कल्प पुरा गर्ने दिशामा सरकार लागिपरेको स्पष्ट गरे । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको उनको दाबी छ । उनले भने,‘विगतमा भन्दा १७ प्रतिशतले राजश्व सङ्कलन बढेको छ । पुँजीगत खर्च बढेको छ । दुई महिनाभित्र सबै भुक्तानीको दायित्व तिर्नुपर्ने बाटोमा सरकार जाँदै छ । लगानीको वातावरण निर्माण गरिरहेको छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्