काठमाडौं, १५ पुष । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वमन्त्री जनार्दन शर्माले इमानदार प्रयत्न, विधि, पद्धती र विचारको स्पष्टासहित लागे पार्टी निर्माण गर्न सकिने बताएका छन् । उनले पार्टी सुधारको लागि गरिएको प्रयत्न विभाजन र सत्ता प्राप्ति दुवैको लागि नभएको स्पष्ट पारेका छन् ।
उनले पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम भएको भन्द्यै प्रशंसा गरेका छन् । उनले उक्त निर्णयले झण्डै चालिस लाख मतदाताको मनोविज्ञानलाई समेटेको पनि उल्लेख गरेका छन् । शर्माले फेशबुकमा लेखेका छन्–
पार्टी निर्माण गर्ने बाटो आफै जोखिमपूर्ण छ, तर इमानदार प्रयत्न, विधि पद्धति र विचारको स्पष्टता सहित लागेमा यो संभव छ। पार्टी सुधारको लागि गरिने प्रयत्न न फुट(विभाजनको लागि हो न त सत्ता प्राप्तिको लागि । बरु इमानदारी साथ भन्न चाहन्छु, म नियमित राजकीय जिम्मेवारीमा गएर पार्टी निर्माण गर्ने कार्य कमजोर बनाउने छैन। एजेन्डा सहित पार्टी निर्माण गर्दै सक्षम र सुदृढ पार्टी नयाँ पुस्तामा हस्तान्तरण एक मात्र उद्देश्य हो। विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम हो। यसले झण्डै चालीस लाख मतदाताको मनोविज्ञानलाई समेट्ने छ।