Logo

एमाले र माओवादीको केन्द्रीय कमिटी एकैदिन, प्रचण्ड डकुमेन्ट लेखनमा व्यस्त



काठमाडौं, १६ पुष । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको केन्द्रीय कमिटी बैठकको तयारीमा जुटेका छन् । सरकारको कामकारबाही सँगसँगै यही पुष २१ गतेबाट सुरू हुने पार्टीको केन्द्रीय कमिटी बैठकको लागि प्रधानमन्त्री ओलीले अहिलेदेखि नै समय छुट्याउन थालेका छन् । एमालेको यो केन्द्रीय कमिटी बैठकलाई महत्वका साथ हेरिएको छ ।

कांग्रेससँगको सहकार्यमा सरकारको नेतृत्व गरेको पाँच महिना पूरा भएको छ । भर्खरै पार्टीका उपाध्यक्ष भैसकेको र पटक पटक मन्त्री बनेका नेता भीम बहादुर रावललाई निकालेका ओलीले केन्द्रीय कमिटी बैठकमार्फत विशेष सन्देश दिन खोजेका छन् । उता, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टीको केन्द्रीय कमिटी बैठक यही पुष २१ गतेको लागि तय गरेका छन् ।

उनी पार्टीको खबरदारी सभा जिल्ला जिल्लामा सम्पन्न गरेर काठमाडौं फर्किएका छन् । दाहाल केन्द्रीय कमिटीको लागि राजनीतिक डकुमेन्ट लेखनमा भिडेका छन् । यसअघि उनी महत्वपूर्ण निर्णय लिने र पार्टीका विभिन्न बैठकको मुखमा काठमाडौं छाडेर उपत्यकानजिकैका जिल्लाका रिसोर्टमा बसेर डकुमेन्ट लेख्ने गर्दथे । यसपटक भने उनी काठमाडौंमै बसेर डकुमेन्ट लेखनमा व्यस्त रहेको बताईन्छ ।

अहिले एमाले र माओवादी केन्द्र आमनेसामने भएका छन् । प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिईराखेका छन् । ओलीले पनि प्रचण्डकै नाम लिएर भ्रष्टहरुको संरक्षक भन्ने गरेका छन् । तर, दुवै नेताले पार्टीको केन्द्रीय कमिटी बैठक भने एउटै मितिमा बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्