काठमाडौं, १६ पुष । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले मधेशबाट शिक्षा मन्त्री भएकाहरुले नै मधेशमा शिक्षा समाप्त पारेको गम्भीर आरोप लगाएका छन् । उनले सुरुमा मधेश नाम राखेर पार्टी खोलिएपछि पछि ती सबै पार्टीको नामबाट मधेश शब्द हटाईएको भन्दै सेन्टिमेन्ट्सको राजनीति नगर्न नेताहरुलाई सुझाव दिए ।
आज (मंगलबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बिहारमा लालु यादव र नीतिश कुमारले सत्ताको लागि बिहार बनाएकोले त्यसको प्रभाव मधेशमा पनि पारिएको उनको आरोप थियो ।
सत्ताको लागि मधेशको शिक्षा समाप्त गरिएको उनको टिप्पणी छ । उनले मधेश सरकारको नेतृत्व मधेशवादी दलले नै गरेको भएपनि शिक्षा र स्वास्थ्यको उन्नती नभएको बताए । उनले एमालेले भर्खरै भीम रावललाई बाईरोडको बाटो देखाएको बताए ।
सिंहले मधेशवादी पार्टीमा पनि परिवारवाद हाबी भएको र अहिलेसम्म सिद्धान्तमा अहसमति भएर पार्टी विभाजन नभएको बताए । उनले मधेशवादी दलहरु मन्त्री बन्नको लागि मात्रै विभाजन भएको आरोप लगाए ।