काठमाडौं, १६ पुष । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले एमाले आजको दिनमा बाहुनहरुको पार्टी भएको टिप्पणी गरेका छन् । उनले भने,‘एमाले आजको दिनमा बाहुनको पार्टी हो । यसमा मधेशका बाहुनले गर्व गर्नुपर्ने कारण छैन् । मधेशका क्षेत्रीहरुलेपनि गर्व गर्नुपर्दैन् । यो जरुरी छैन् । त्यहाँ हेर्नुहोस हरेक पदाधिकारी कोही खनाल होला, कोही ओली होला, कोही पौडेल होला । माओवादीपनि त्यसबाट अलग छैन् ।’
उनले नेपालमा सबभन्दा थारु मारिएको पनि माओवादीको जनयुद्धमा भएको स्मरण गराए । उनले माओवादीका बाहुनहरु पुष्पकमल दाहाल र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा थारु किन शहीद भए ? भनेर आफूले टिकापुरमा भाषण गरेको पनि स्मरण गराए । उनले मधेश आन्दोलन पनि मधेशवादी नेताका श्रीमतीलाई सांसद र मन्त्री बनाउनको लागि नभएको बताए ।
उनले भने,‘मधेश आन्दोलन कसैको श्रीमतीलाई सांसद बनाउन वा मन्त्री बनाउनको लागि भएको थिएन, मधेशी जनता शहीद भएका थिएनन ।’ उनले शरदसिंह भण्डारी पञ्चायतदेखि अहिलेसम्म मन्त्री बनेको र भण्डारीकै पार्टीका नेताहरुले लोसपा खाँटी मधेशवादी पार्टी भनेकोमा कडा टिप्पणी गरे । उनले भने,‘पर्मानेन्ट पञ्चायतदेखि बहुदलदेखि गणतन्त्रसम्म मन्त्री बन्ने एउटै मान्छे गोल्डमेडलिष्ट हो–त्यो शरदसिंह भण्डारी ।’
उनले पार्टीको लोकतान्त्रिककरण नभएसम्म देशले विविधता भरिएको सामाजिक न्याय नहुने बताए । उनले राजेन्द्र महतोको मुक्ति आन्दोलनले कसैको पनि मुक्ति नहुने भन्दै कडा आपत्ति जनाए । उनले भने,‘किनभने देशी तथा विदेशी शक्तिले दोकानलाई विश्वास गर्छ । आर्थिक रुपले दोकानलाई सपोर्ट गर्छ ।’ उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ४० वर्षदेखि पार्टीको अध्यक्ष रहेको र बाचुञ्जेलसम्म अध्यक्ष नछोड्ने दाबी गरे ।