काठमाडौं, १६ पुष । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले कांग्रेसका नेता विमलेन्द्र निधिको बारेमा कडा टिप्पणी गरेका छन् । उनले भने,‘एउटा कुटनीतिक नियोगमा भोज चलिराखेको थियो । उहाँ उपप्रधानमन्त्री एवम् गृहमन्त्री हुनुहुन्थ्यो । अनि पार्टीको पनि उपसभापति हुनुहुन्थ्यो । दुई/चार पेक पिएपछि उहाँले भन्नुभयो कि म त देशको सेकेण्ड म्यानपनि यहीँ छु, पार्टीको पनि सेकेण्ड छु, केही दिनमा देशको फष्ट म्यान हुन्छु, र पार्टीको पनि फस्ट म्यान हुन्छु । मलाई यस्तो कुरा बरदास हुँदैन् । मैले भनेको थिएँ, जुन दिन तपाईं कांग्रेस र एमालेको अध्यक्ष या मुलुकको प्रधानमन्त्री मधेशी भएर ताक्नुहुन्छ, त्यही दिन भष्म हुनुहुन्छ भनेको थिएँ । उहाँ भष्म भैसक्नुभएको छ । उहाँको कुनै माई, बाप छैन्, उहाँ गाउँ घुमिरहनुभएको छ । समानुपातिकको लागि आरजुलाई गुहार्नुपर्यो । यथार्थ राजनीति कडा हुन्छ । यथार्थ बोल्नको लागि सत्तासँग टाढा बस्नुहोस । सत्ताले सधैं सत्यलाई ढाक्छ ।’
उनले मधेशको समस्या धर्म हो कि शिक्षा हो भन्दै कडा प्रश्न गरे । सिंहले एमाले आजको दिनमा बाहुनहरुको पार्टी भएको टिप्पणी गरेका छन् । उनले भने,‘एमाले आजको दिनमा बाहुनको पार्टी हो । यसमा मधेशका बाहुनले गर्व गर्नुपर्ने कारण छैन् । मधेशका क्षेत्रीहरुलेपनि गर्व गर्नुपर्दैन् । यो जरुरी छैन् । त्यहाँ हेर्नुहोस हरेक पदाधिकारी कोही खनाल होला, कोही ओली होला, कोही पौडेल होला । माओवादीपनि त्यसबाट अलग छैन् ।’
उनले नेपालमा सबभन्दा थारु मारिएको पनि माओवादीको जनयुद्धमा भएको स्मरण गराए । उनले माओवादीका बाहुनहरु पुष्पकमल दाहाल र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा थारु किन शहीद भए ? भनेर आफूले टिकापुरमा भाषण गरेको पनि स्मरण गराए । उनले मधेश आन्दोलन पनि मधेशवादी नेताका श्रीमतीलाई सांसद र मन्त्री बनाउनको लागि नभएको बताए ।
उनले भने,‘मधेश आन्दोलन कसैको श्रीमतीलाई सांसद बनाउन वा मन्त्री बनाउनको लागि भएको थिएन, मधेशी जनता शहीद भएका थिएनन ।’ उनले शरदसिंह भण्डारी पञ्चायतदेखि अहिलेसम्म मन्त्री बनेको र भण्डारीकै पार्टीका नेताहरुले लोसपा खाँटी मधेशवादी पार्टी भनेकोमा कडा टिप्पणी गरे । उनले भने,‘पर्मानेन्ट पञ्चायतदेखि बहुदलदेखि गणतन्त्रसम्म मन्त्री बन्ने एउटै मान्छे गोल्डमेडलिष्ट हो–त्यो शरदसिंह भण्डारी ।’
उनले पार्टीको लोकतान्त्रिककरण नभएसम्म देशले विविधता भरिएको सामाजिक न्याय नहुने बताए । उनले राजेन्द्र महतोको मुक्ति आन्दोलनले कसैको पनि मुक्ति नहुने भन्दै कडा आपत्ति जनाए । उनले भने,‘किनभने देशी तथा विदेशी शक्तिले दोकानलाई विश्वास गर्छ । आर्थिक रुपले दोकानलाई सपोर्ट गर्छ ।’ उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ४० वर्षदेखि पार्टीको अध्यक्ष रहेको र बाचुञ्जेलसम्म अध्यक्ष नछोड्ने दाबी गरे । Photo By: Mukunda Kalikote/ReportersNepal