Logo

ग्रामीण सडक विस्तारबाट कृषि उपजको बजारीकरण सहज



भोजपुर, पुस १७ । ग्रामीण भेगसम्म सडक विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज भएको छ। ग्रामीण भेग सडक सञ्जालबाट जोडिएपछि कृषि उपज बेचेर यहाँका किसान आर्थिक रूपमा पनि सक्षम बनेका छन्।

सदरमुकामको देउराली चोकबाट चखेवाभञ्याङसम्मको ४२ किलोमिटर सडक कालोपत्र भएको छ। यो सडकबाट खोटाङ हुँदै काठमाडौँ पुगिन्छ। स्थानीय बजारमा नबिकेका उत्पादन काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको छ।

यहाँ उत्पादन भएका कृषिउपज किसानले काठमाडौँ बाहेक पूर्वी भेगका धरान, विराटनगरलगायत सहरमा पनि बेच्दै आएका छन्। केही व्यापारी धानमकै किन्न घरखेतमा नै पुग्ने गरेको टेम्केमैयुङ–५ का किसान सन्तोष विष्टले बताए।

यसैबीच, जिल्लाको पूर्वी क्षेत्रबाट तराईका जिल्लासँग जोड्ने भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहजतासँगै यहाँका उत्पादनको बजारीकरण पनि सहज भएको छ।

एसियाली विकास बैंकको ऋण सहयोगमा भोजपुर–लेगुवा ६६ किलोमिटर सडक कालोपत्र भएको छ। भोजपुरको लेगुवाबाट धनकुटा हुँदै धरान जोड्ने यो सडकमा नियमित रूपमा सार्वजनिक सवारीका साधन सञ्चालन भएपछि व्यापारीलाई पनि उद्यम गर्न सजिलो भएको छ। रासस



प्रतिक्रिया दिनुहोस्