Logo

‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’



सिङ्गापुर, १७ पुस । सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले मङ्गलबार सन् २०२४ मा देशको अर्थतन्त्र ४ दशमलव ० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको बताएका छन् ।

“बलियो अर्थतन्त्रको साथ, म वास्तविक आम्दानी थप बढ्ने आशा गर्दछु,” वोङले आफ्नो नयाँ वर्षको सन्देशमा उल्लेख गरे ।

प्रधानमन्त्रीले आउँदो फेब्रुअरी १८ मा प्रस्तुत हुने बजेट सन् २०२५ मा देशको आगामी कदमको रूपरेखा दिने बताए । सिङ्गापुरको प्रमुख प्राथमिकताहरूमा आर्थिक प्रतिस्पर्धात्मकता बढाउने, नागरिकहरूका लागि अवसर तथा राम्रो रोजगारी सिर्जना गर्ने र बढ्दो जीवनयापन लागतको प्रभावलाई कम गर्ने समावेश छ ।

“हामीले विशेष गरी वृद्ध व्यक्तिहरू तथा कम आय समूहकाहरूलाई थप लक्षित समर्थन प्रदान गर्नेछौं,” वोङले बताए । वृद्ध आमाबाबु तथा साना बच्चाहरूलाई बेवास्ता गरिने छैन ।

नोभेम्बरमा, व्यापार तथा उद्योग मन्त्रालयले सिङ्गापुरको कुल गार्हस्थ्य उत्पादन वृद्धि सन् २०२४ को लागि करिब ३ दशमलव ५ प्रतिशत हुने अनुमान गरेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्