त्रिवेणी (नवलपरासी), १८ पुस । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा रहेको ऐतिहासिकस्थल रुद्रपुर गढी पदयात्राको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ । हुप्सेकोट गाउँपालिका–५, अन्तर्गत धौवादी क्षेत्रमा पर्ने रुद्रपुर गढी पदयात्राको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको हो ।
पूर्व पश्चिम राजमार्गको दलदलेदेखि करिब २५ किलोमिटरको उत्तरतर्फ रहेको रुद्रपुर गढी पुग्नेको सङ्ख्या अहिले दिनहुँ बढ्न थालेको हुप्सेकोट गाउँपालिका–५, का अध्यक्ष पदमबहादुर रानाले बताए । छोटो दूरीको पदयात्रा गर्न चाहनेको रोजाइमा हिजोआज रुद्रपुर गढी पर्ने गरेको अध्यक्ष रानाले बताए । एक हजार नौ सय ३६ मिटरको उचाइमा रहेको जिल्लाकै अग्लो डाँडा देवचुली जान नसक्नेहरू धेरै जसो रुद्रपुर गढी पुग्ने गरेको उनको भनाइ छ ।
देवचुलीको यात्रा केही लामो हुने गरेपछि छोटो दूरीको पदयात्रामा रमाउन चाहनेहरूको रोजाइमा रुद्रपुर गढी पर्ने गरेको हो । धौवादीको हुरहुरेबाट करिब एक घण्टाको पैदल यात्रा गरी रुद्रपुर गढी पुग्न सकिन्छ । छोटो दूरीको यात्रा भएपछि यहाँबाट जिल्लाको रमणीय पहाडी फाँट, उत्तरतर्फ हिमाली शृङ्खला र दक्षिणतर्फका बस्तीहरूको समेत अवलोकन गर्न सकिने उनले बताए । यति मात्र नभएर रुद्रपुर डाँडाको टुप्पोमा रहेको ऐतिहासिकस्थल रुद्रपुर गढीको अवलोकनसमेत गर्न सकिने हुँदा पदयात्रामा निस्कनेहरूको रोजाइमा रुद्रपुर गढी पर्ने गरेको अध्यक्ष रानाले बताए।
“रुद्रपुरको यात्रामा निस्कनेहरूले रमणीय दृश्य त देख्न पाउँछन् नै, सँगै ऐतिहासिकस्थलको समेत अवलोकन गर्न पाउने हुँदा यहाँ आउनेहरू अहिले बढ्न थालेका छन्,” अध्यक्ष रानाले भने । समुन्द्र सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको सेन वंशीय राजा रुद्र सेनको गढी आफैँमा ऐतिहासिक महत्व बोकेको स्थानका रूपमा समेत रहेको छ ।
सेन वंशीय राजा रुद्र सेनले विसं १५५० मा पाल्पालाई आफ्नो राज्यको केन्द्र बनाउँदै अघि बढ्ने क्रममा यस गढीको निर्माण भएको इतिहास छ । तर अहिले गढी भएको स्थान झारपातले भरिएको भने संरक्षण अभावमा यहाँको संरचना नष्ट हुँदै गएको छ । यहाँ रहेको दरबारको भग्नावशेषलगायतका संरक्षणको अभाव देखिएको छ ।
रुद्रपुर गढीसम्म पुग्नका लागि धेरैजसो ढलानसहितको पदमार्ग निर्माण गरिएको छ । हुप्सेकोट गाउँपालिकाले पदमार्ग र केही स्थानमा विश्रामस्थलहरू निर्माण गरेको छ । तर पूर्ण रूपमा पदमार्ग निर्माण हुन अझै बाँकी रहेको छ । पदमार्गसहित थप विश्रामस्थल, खानेपानीको व्यवस्थापन र रुद्रपुर गढीको संरक्षण, गढी क्षेत्रमा गढीको इतिहाससहितका परिचय सामग्री राख्ने हो भने यस क्षेत्रको आकर्षण थप बढ्ने पदयात्रामा पुग्नुभएका कावासोतीका वीरेन्द्र पराजुलीले बताए ।
“रुद्रपुर गढी रमणीय लाग्यो, तर थप यसको व्यवस्थापन गर्नुपर्ने देखिन्छ, गढी क्षेत्रको परिचय सामग्री राख्ने र यसको सरसफाइ मात्र गर्ने हो भने थप राम्रो हुने थियो,” पदयात्रामा आउनेको सङ्ख्या बढ्ने थियो,” पराजुलीले भने । रासस