काठमाडौं, १८ पुष । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच सवालजवाफ भएको छ । बैठकको सुरुमा प्रचण्डले आफू सरकारमा हुँदा भ्रष्टाचारको फाइल खोल्न थालेपछि सरकार नै ढलेको प्रसंग निकालेका थिए । लगत्तै गगन थापाले अब भ्रष्टाचारको फाइलको कुरा गरेर एकले अर्कोलाई तेर्साउने काम बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।
थापाले बरु कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु एक ठाउँमा बसेर अहिले चर्चामा रहेका सबै भ्रष्टाचारको काण्डको फाईल अघि बढाउन सहमति गर्नुपर्ने धारणा राखेका थिए । बैठकमा प्रचण्डको नाम मुछिएको नुवाकोटको शेरा दरबारको विषयमा पनि प्रश्न उठेको थियो । जसमा दाहालले आफ्नो नाम जोडेर समाचार आएको शेरा दरबारको विषयमा छानबिन गर्न र दोषीलाई कारबाही गर्न भनेका छन् ।
सो क्रममा दाहालले शेरा दरबारको जग्गा व्यक्तिले मिचेको हो भने अनुसन्धान गरेर फिर्ता ल्याउन माग गरेका छन् । उनले शेरा दरबारको जग्गा फिर्ता ल्याउने सवालमा आफ्नो सहयोग रहने र फिर्ता ल्याए सरकारलाई धन्यवाद भन्ने पनि बताए ।
उनले भने,‘भ्रष्टाचारको सवालमा म प्रधानमन्त्री हुँदा जो कोही होस, कानूनको दायरामा ल्याउनुपर्छ भनेको थिएँ । मलाई लाग्छ, माननीय सदस्यहरुले त्यतिवेला यदि छानबिन गर्दै जाँदा प्रचण्ड नै देखापर्यो भने त्यसको लागिपनि छानबिनको दायरामा ल्याउनुपर्छ भनेर पहिलोपटक बोल्ने प्रधानमन्त्री सायद म नै थिएँ । अहिले यही शेरा दरबारको कुरापनि चर्चा सुनेपछि मैले अस्ति झापाको एउटा कार्यक्रममा बोलेको पनि थिएँ, दोषीलाई कारबाही गरियोस । सरकारलाई सहयोग गर्न म तयार छु भनेको थिएँ । अहिले अरु धेरै भन्नु केही पनि छैन् । खाली सरकारलाई के भन्छु भने कानूनविपरित काम भएको छ भने, जसरी ललिता निवासको कयौं रोपनी जग्गा चाहीँ सरकारको नाममा फिर्ता ल्याईयो, त्यसैगरि शेरा दरबारको पनि जग्गा फिर्ता भयो भने म सरकारलाई सहयोगमात्रै होईन धन्यवाद पनि भन्नेछु । धन्यवाद ।’