Logo

एकै समयमा पाँचवटा गरी आज ६ संसदीय समितिका बैठक बस्दै



काठमाडौं, पुस १९ । आज संघीय संसद्का ६ वटा समितिका बैठक बस्दै छन्। जसअनुसार अहिले बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुने जनाइएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्ध र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिका बारेमा छलफल हुनेछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा जलवायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासहरू तथा कोप–२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरूमा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्षहरू र आगामी दिनहरूमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभावकारी सहभागितालाई उपलब्धिमूलक बनाउने सम्बन्धमा गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल हुँदैछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ। विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुने संसद् सचिवालयले जनाएको छ । उक्त सबै बैठकहरु बिहान ११ बजेदेखि सुरु हुँदैछन् ।

त्यस्तै, साढे ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै एजेन्डा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ।



प्रतिक्रिया दिनुहोस्