काठमाडौं, १९ पुष । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री अमनलाल मोदीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आँफै ढल्ने दाबी गरेका छन् । उनले अहिलेको सरकार कसैले ढाल्नै नपर्ने बरु आँफै कुहिएर झर्ने दाबी गरे ।
आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको “नेपाली बहस” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले आफूहरु अहिलेको सरकार ढाल्न नलागेको जिकिर गरे ।
उनले आफूहरु सरकार ढाल्नको लागि कांग्रेस नेताहरुकहाँ धाएको वा हारगुहार गरेको भन्नेमा आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारे । सत्तारुढ नेपाली कांग्रेसकै नेताहरुले नै सरकारको बारेमा आलोचना र विभिन्न टिकाटिप्पणी गर्न थालेको स्मरण गराए ।
ओली सरकार ढाल्न कांग्रेस नेताहरु लागेको उनको खुलासा छ । उनले आफूहरु अहिले जनताको पक्षमा फर्किएको र जागरण अभियान चलाउने जानकारी दिए ।