Logo

शशांक, विमलेन्द्र र प्रकाशमानलक्षित रामहरिको टिप्पणी : लञ्च खाँदैमा पार्टी दर्हो हुन्छ ?



काठमाडौं, १९ पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता रामहरि खतिवडाले कांग्रेसका नेताहरु शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले लञ्च खाँदैमा पार्टी बलियो नहुने बताएका छन् ।

उनले भने-“सबैका सुपुत्रहरु एकै ठाउँमा आउनुपर्छ । कुनै विपीको, गणेशमानजी र महेन्द्रनारायणजीको मात्रै होईन, नोनाको पनि आउनुपर्छ । गिरिजाबाबुको छोरी पनि आउनुपर्छ । अरुका पनि छोराछोरी होला, सबै आउनुपर्यो । पार्टी कार्यकर्तापनि आउनुपर्यो । एकै ठाउँमा आउनु कुनै नराम्रो कुरा होईन । लञ्च खाँदैमा पार्टी दर्हो हुन्छ र ? यदि हुन्छ भने बिहानदेखि बेलुकासम्म सोल्टीमा लञ्च खाए भैगयो नि ।” उनले पार्टीलाई सबैको प्यारो, प्रिय र आशा र भरोसायोग्य बनाउनुपर्नेमा जोड दिए ।

खतिवडाले अहिलेको मन्त्रीहरुले जनतालाई निराशाबाट बाहिर निकाल्न र आशा सञ्चार गर्नको लागि देखिनेगरि काम गर्नुपर्ने बताएका छन् । उनले सत्ताको बार्गेनिङ र च्याँखे थाप्नेहरुलाई कांग्रेस र एमाले मिलेर तह लगाएको भएपनि अब जनतालाई खुशी पार्नेगरि काम गर्नुपर्ने बेला भएको बताए । आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

सरकारमा बसेर जनतालाई खुशी पार्ने काममा लाग्न अहिलेका मन्त्रीहरुलाई उनको सुझाव छ । उनले सहकारी ठगी प्रकरणमा सबैलाई कारबाही हुने विश्वास दिलाए । उनले धनराज गुरुङ वा ऋषिकेश पोखरेल जो भएपनि गलत गरेको भए कारबाही हुने बताए । उनले रास्वपाका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध नसाँधिएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्