Logo

देउवासँगको सहकार्यमा ओलीले कन्फिडेन्स गुमाउन थाले, विद्यासँग नयाँ वाचा



काठमाडौं, १९ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाको आकस्मिक प्रस्तावको कारण सत्तारोहण गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाएको पाँच महिना नाघिसकेको छ । तर, प्रधानमन्त्री ओलीदेखि एमाले पँक्ति अनि सरकारमा रहेका उपप्रधानमन्त्रीहरुको काम भनेको यो सरकार ढल्दैन र सहकार्य ०८४ सम्म कायम रहन्छ भन्नमात्रै देखिएको छ ।

दुई तिहाईको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीले पछिल्लो साता उकुमुकुसको अनुभूति गर्न थालेको चर्चा छ । उनले पार्टीको सचिवालय बैठकमा पनि राष्टिय परिस्थिति जटिलतार्फत मोडिएको बताउने गरेको स्वयम बैठकमा सहभागी एमाले नेताहरुले सूचना चुहाउन थालेका छन् । कांग्रेसका प्रभावशाली नेताहरुले खुला रुपमा नै कांग्रेसलाई नसोधी प्रधानमन्त्री ओलीले श्वाँस पनि फेर्न नसक्नेखालको अभिव्यक्ति दिन थालेका छन् ।

यसरी प्रधानमन्त्री ओलीमाथि आफूहरुको लगाम छ भनेर सार्वजनिक रुपमा बोल्ने नेतामा ओलीकै गृहजिल्ला झापाका कहलिएका कांग्रेस नेता कृष्ण सिटौला हुन् । उनले पछिल्ला दिनमा दिने हरेक भाषणमा अहिलेको सरकारको नेतृत्वमा ओली भएपनि आफूहरुको नीतिअनुसार चलेको भन्ने कुरा अभिव्यक्त छ ।

उता, शेखर कोइरालाले पनि सरकार गठन हुँदा दुई दलबीच भएको ७ बुँदे सहमतिअनुसार सरकार चल्न नसकेको भनेर सार्वजनिक रुपमै आलोचना गर्न थालेका छन् । कांग्रेस महामन्त्री गगन थापाले पनि सरकारले सोचेअनुरुप काम गर्न नसकेको भनेका छन् । सबै हिसाबले प्रधानमन्त्री ओली कांग्रेस नेतृत्वसँग सशंकित छन् । कांग्रेसकै जोडबलमा उनले सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि पक्राउ गर्न लगाएको चर्चा सेलाएको छैन् ।

आम जनमानसमा प्रधानमन्त्री ओली देउवा दम्पत्तिको दबाबमा पर्दा रविमाथि राज्यनियन्त्रित प्रतिशोध साँधिएको र अमानवीय व्यवहार भएको भन्ने परेको छ । यसको महशुस आम एमाले नेतृत्व पँक्तिलेपनि गर्न थालेको बुझिएको छ ।

आफ्नो चीन भ्रमणको क्रममा बीआरआईलिएर कांग्रेसले बेइजिङ उड्नुअघि झिकेको बखेडा र बेइजिङमा पनि परराष्ट्रमन्त्री आरजु राणाले लिएको अडानको कारण प्रधानमन्त्री ओली दबाबमा थिए । त्यहीकारण भ्रमणको औपचारिक कार्यक्रम सकिएपछिमात्रै बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भयो । उक्त सम्झौतामा हस्ताक्षर नभएको भए प्रधानमन्त्री ओलीले कुर्सी नै संकटमा परेको भन्ने तवरले नेपालमा चर्चा थियो । चीन भ्रमणबाट फर्किएपछि कांग्रेस नेतृत्वसँग भने उनको सम्बन्धमा हार्दिकता नभएको बताईन्छ ।

यद्धपी कांग्रेस सभापति देउवासँग उनले सार्वजनिक कार्यक्रममा स्टेज सेयर गरिरहेका छन् । देउवाले पनि प्रधानमन्त्रीको चीन भ्रमणको प्रशंसा नै गर्ने गरेका छन् । अहिले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा देउवाले सहमति दिएको भनिएको छ । तर, कांग्रेसकै पदाधिकारीमा रहेकाहरुले संसद्को अधिवेशन बोलाउने बेलामा अध्यादेशको बाटोमा हिँड्न नहुने मत राखेका छन् । यसले देउवापनि दबाबमा छन् ।

तर, प्रधानमन्त्री ओलीले आज भोलि नै केही साना दल विभाजन गर्नेगरि अध्यादेश ल्याउने गृहकार्य गरिसकेको चर्चा छ । पार्टीबाट भीम बहादुर रावललाई हटाएपछि चौतर्फी आलोचना व्यहोरिरहेका ओली हिजो (बिहीबार) सचिवालय बैठक नै छोट्याएर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका थिए । भण्डारीसँग उनको दुई घण्टा राजनीतिक विमर्श चलेको ओलीकै सचिवालयले जनाएको छ । पछिल्लो समय एमालेको सक्रिय राजनीतिमा फर्किने अन्तिम तयारीमा रहेकी भण्डारीले ओलीलाई के भनिन् ? भन्ने खुलाईएको छैन् ।

तर, दुई नेताबीच एमालेको आन्तरिक राजनीतिमा उत्पन्न संकटको बारेमा भने गम्भीर छलफल भएको छ । एमालेमा ओलीबाट प्रताडितहरुलाई उनै भण्डारीले सान्त्वना दिने गरेको बताईन्छ । भण्डारीलाई एमालेको राजनीतिमा फर्काउन आग्रह गर्नेहरुप्रति पनि ओलीले निगरानी बढाएका छन् । र, उनीहरुलाई पार्टीबाट पाखा लगाउन खोजिएको टिप्पणी आउन थालेका छन् । कुनै समय ओलीसँग निकटतम सम्बन्ध कायम गर्ने नेता गोकुलप्रसाद बाँस्कोटा अहिले धेरै टाढा पुगिसकेका छन् । बाँस्कोटाले त काभ्रेमा विद्यार्थीहरुको समानान्तर भेला नै गराएका छन् । यसले पनि एमालेमा ओलीलाई चूनौति दिनेगरि सशक्त गुटको विजारोपण भएको आभास हुन्छ ।

अहिले ओलीसँग सरकारमा अर्थमन्त्रीको भूमिकामा रहेका उपाध्यक्ष विष्णु पौडेलको पनि सम्बन्ध सुमधुर नभएको बताईन्छ । कतिसम्म भने यी दुई नेताबीच सम्वादसमेत टुटेको विश्वस्त स्रोतको दाबी छ । विष्णुसँग ओलीको असन्तुष्टिमा पनि विद्या भण्डारी नै जोडिएकी छन् । विद्यालाई राजनीतिमा आउन दबाब दिने नेतामा विष्णु पौडेलपनि पर्छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले सत्ता सहकार्यमा देउवासँग त्यति सहज महशुस नगरेको बताईन्छ । कांग्रेसले आफूलाई धोका दिन लागेको संकेत पाएपछि र एमालेको आन्तरिक राजनीतिमा संकट आईलागेपछि उनले विद्या भण्डारीसँग भेट गरेका हुन् । उनले विद्यासँग राजनीतिमा नै आउने भए आफूले नै न्यानो स्वागत गर्ने वाचा गरेको उच्च स्रोतको दाबी छ ।

देउवा दम्पत्ति विकल्पको खोजीमा

कांग्रेस सभापति देउवाले १५औं महाधिवशेनलाई ध्यानमा राखेर अझै ६ महिना सरकारको नेतृत्वमा ओलीलाई नै निरन्तरता दिने सोचेको बताईन्छ । तर, कांग्रेसमा समेत आन्तरिक समिकरण बिग्रिन थालेको सूचना पाएपछि देउवाले सत्ताको चाबी आँफै बुझ्न हतारो गरेका छन् । यसको लागि उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग सम्वाद थालेका छन् ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समेत कांग्रेसले ओली सरकार ढाल्नको लागि आफूहरुकहाँ दूत पठाउन थालेको खुलासा गरेका थिए । उता, सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका रास्वपाका सभापति रविलामिछानेले पनि ओलीलाई सरकारको नेतृत्वबाट विस्थापित गर्ने सवालमा सहयोग गर्ने वचनबद्धता कांग्रेस नेतृत्वसमक्ष पठाएको चर्चा छ ।

देउवाले ओलीसँगको सहकार्य तोड्ने बहाना खोजेका छन् । उसैपछि देउवा दम्पत्तिमाथि सहकार्य तोड्ने दबाब उनकै गुटका नेताहरुले बढाउन थालेका छन् । हालै भारत भ्रमण गरेकी आरजुले नयाँ दिल्लीमा अपमान महशुस गरेकी छिन् । उनले ओलीकै कारण दिल्लीले आफूमाथि बेवास्ता गरेको बुझाई राखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्