काठमाडौँ, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन् ।
कल्प संस्थाद्वारा आज आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘सी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताए । हिजो छोरीहरुको साक्षरताको स्तरमाथि आउन नसकेकामा आज महिला शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उनको भनाइ थियो ।
“व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरुको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ”, प्रधानमन्त्री ओलीले भने, “महिलाले समान अधिकार पाउनु संवैधानिक र कानुनी अधिकार हो । ती सबै समानता दिने ठाउँमा हामी पुग्नुपर्छ । हकअधिकारको उपभोग र अवसरमा समानता चाहिएको छ । प्राप्त उपलब्धिहरु पर्याप्त नभएका हुन सक्छन् । आज स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि छन् । यो उपस्थिति प्रगतिउन्मुख छ । यसलाई बढाएर लानुपर्छ ।”
प्रधानमन्त्री ओलीले महिलामा करुण, माया र स्नेहभाव बढी हुने र उनीहरुको भूमिका हरेक क्षेत्रमा उत्कृष्टता र श्रेष्ठता हासिल गरेको उल्लेख गरे ।
कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो । रासस