काठमाडौं, २० पुष । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीले पार्टीबाट निष्काषित नेता भीम रावलमाथि गम्भीर आरोप लगाएका छन् । एमालेमा रहँदा भीम रावल माओवादीलाई हत्या गरेर सक्नुपर्छ भन्ने मान्छे भएको खगराजको दाबी छ । आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् ।
उनले भने,‘भीम रावलले माओवादीलाई दमन गरेर सक्नुपर्छ, माओवादीलाई हत्या गरेर सक्नुपर्छ भन्ने मान्छे हो उहाँ । केपी ओली हत्या होईन वैचारिक युद्ध गर्नुपर्छ । वैचारिक रुपान्तरण गर्नुपर्छ भन्ने मान्छे हो । पार्टीभित्र म यो कुराको अलिक पूरानै जानकारी राख्ने मान्छे हुँ ।’ उनले भीम रावल तुलसी गिरीको पारिवारिक नाताको मान्छे भएको हुनाले के के गरे भन्ने कुरा विस्तारै पोल खुल्दै जाने पनि बताए ।
एमालेले राजासँग वार्ता गरेर ०४६ सालको आन्दोलनपछि बनेको सरकारमा सल्लाहकार भएर तर मार्ने काम उनै भीम रावलले गरेको पनि अधिकारीको आरोप छ । उनले भने,‘०४८ सालको चुनावपछि जागिर खान कम्बोडियो गएको हामी हो र ? उहाँ चाहीँ लैनौ पाडोजस्तो हुर्किएको, सुखसयलमा हुर्किएको हो । उहाँको कुराबारे हामी जानकार नै छौं । उहाँजस्तो दक्षिणपन्थी, कम्युनिष्टविरोधी हो भन्ने कुरा उहाँ आँफैले देखाउनुभयो ।’