काठमाडौं, २१ पुष । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन् । आइतबार प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकार गठनका बेला भएको सहमतिअनुसारनै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने बताए ।
उनले सरकार गठन अघि भएको सहमतिमा कांग्रेस र एमाले इमान्दार रहेको दाबी गर्दै सरकार परिवर्तन नहुने दाबी गरे । सहमतिअनुसार नै एमाले अध्यक्ष केपी ओलीपछी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए ।
उनले भने,‘आउने निर्वाचनमा कांग्रेस र एमालेबिच प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई थाहा छ । परिस्थितिको आवश्कता अनुसार अहिलेको सरकार बनेको छ । हामी अहिले सँगै सरकारमा रहेर काम गरिरहेका छौं ।’ उनले प्रचण्ड नेतृत्वको सरकारले पूरा गर्न नसकेका विकास कामहरू अहिलेको सरकारले गरिरहेको दाबीसमेत गरे ।