काठमाडौं, २१ पुष । नेकपा (एमाले) को केन्द्रीय कमिटीको आठौं बैठक जारी छ । ललितपुरस्थित् पार्टी मुख्यालय च्यासलमा आज र भोलि चल्ने बैठकको आज पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिराखेको छ । ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा ठूला भ्रष्टाचार भनेर सुन तस्करी र ललिता निवास प्रकरणमात्रै उल्लेख गरेका छन् ।
अरू चर्चित ठुला भ्रष्टाचारको विषयमा भने ओलीको प्रतिवेदन मौन छ । प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको ओलीको आरोप छ । ओलीको उक्त आरोप सुन तस्करी र ललिता निवास प्रकरणमा प्रचण्डले खेलेको भूमिका भनेर चर्चा गरिएको छ । तर, पूरा देशवासीले थाहा पाएको नक्कली भुटानी शरणार्थी प्रकरण, वाइडबडी र गिरिबन्धु टि–स्टेट प्रकरणबारे ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा भने एक शब्दपनि चर्चा गरेका छैनन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले त आफू नेतृत्वको सरकारले गिरिबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणको फाईल अघि बढाएपछि सरकार ढालिएको भनेर सार्वजनिक रूपमै दाबी पेश गर्दै आएका छन् । हालै माओवादीको झापाको गौरीगञ्जमा आयोजित खबरदारी सभामा पनि प्रचण्डले गिरिबन्धुको फाइल खोलेरै छाड्ने उद्घोष गरेका थिए ।
उनले गिरिबन्धु प्रकरणमा केपी ओलीको बदमासी रहेको भन्दै उक्त फाईल आफू सत्तामा पुग्नेबित्तिकै खोल्ने प्रचण्डको उद्घोष छ । तर, यी प्रकरणमा भने एमाले अध्यक्ष ओली अस्वभाविक रुपमा मौन देखिएका छन् । उनले यी प्रकरणबारे आफ्नो राजनीतिक प्रतिवेदनमा कहीँ कतै एक शब्दपनि उल्लेख गरेका छैनन् ।