काठमाडौं, पुस २२ । नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजेपछि पुनः बस्ने माओवादी केन्द्रले जनाएको छ । बैठक आइतबार धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा सुरु भएको थियो । आज त्यसैले निरन्तरता पाउने छ ।
बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्षिप्त राजनीतिक प्रतिवेदन पेस गरेका थिए । सो प्रतिवेदनमा माओवादी अब जनतामा फर्कनुको विकल्प नभएको उल्लेख छ । आइतबारको बैठकमा भौगोलिक र गैरभौगोलिक गरी १२ प्रदेश संरचनाका अध्यक्ष वा प्रतिनिधिले संगठनात्मक रिपोर्टिङ गरेका थिए । बैठक पुस २४ गतेसम्म चल्नेछ ।