काठमाडौं, २२ पुष । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टीको जारी केन्द्रीय कमिटीको बैठकमा पेश भएको राजनीतिक प्रस्तावमा केपी शर्मा ओलीको बारेमा केही पनि उल्लेख नगरिएको स्पष्ट पारेका छन् । ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा माओवादी र प्रचण्डको बारेमा विभिन्न कुरा लेखेको भएपनि आफूहरुले ओलीको नाम राजनीतिक प्रस्तावमा उल्लेख नगरेको उनको भनाई छ ।
गजुरेलले आफूहरुले राजनीतिक कुरा वैचारिक ढंगले नै प्रतिवाद गरिरहेको अवस्थाको स्मरण गराए । उनले भने,‘माओवादीले संश्लेषण गर्दैछ, तर केपी ओलीले त टालटुल गर्दै हुनुहुन्छ । फरक यत्ति हो । दुवै पार्टीको बैठक एकैदिन परेछ । माओवादीले समाजवादी क्रान्तिको दिशालाई अघि बढाउने कार्यदिशा तय गर्दैछ । उहाँहरुले भएका असन्तुष्टिलाई टालटुल गर्नतिर लाग्नुभएको छ ।’
उनले एमालेले आफूहरुलाई धोका दिएको कारण अहिले प्रतिवाद गर्नुपरेको बताएका छन् । उनले भने,‘एमालेले हामीलाई धोका दिएकै हो । मरेपनि सँगै स्वर्ग जाने, बाँचेपनि सँगै बाँच्ने भन्नुभएको थियो । त्यो त धोका नै थियो । बरु, सिधै भनेको भए हुन्थ्यो, अब राम्रो सहकार्य जाँदैन भनेर । ओलीजीले त्यस्तो जुन व्यवहार गर्नुभयो, त्यसको अहिले हामीले प्रतिवाद गरेको हो ।’
आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चरम अवसरवादी नेताको संज्ञा दिए । उनले भने,‘अलि अलि अवसरवादी त हामी पनि भयौं, तर उहाँ चाहीँ चरम अवसरवादी भएर यो समस्या आयो ।’