काठमाडौं, २२ पुष । संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि संविधान संशोधनको विषय उठिरहेको छ । यही बेलामा मधेशकेन्द्रित दलहरुबीच सहकार्य हुँदै एकतासम्मको गृहकार्य सुरू भएको छ । यसरी छिन्नभिन्न भएका मधेशवादी दलहरु एकाएक सहकार्यको प्रस्तावसहित अघि आउनुमा यिनी कांग्रेस र एमालेबीचको सत्ता–सहकार्य र संविधान संशोधनको एजेण्डा प्रमुख कारण बनेको छ ।
पछिल्लो साता मधेशकेन्द्रित दलका नेताहरुको भेला तथा सम्मेलन बढि नै देखिन थालेको छ । संसद्मा प्रतिनिधित्व गर्ने दलहरु अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले कांग्रेस र एमालेविरुद्ध मोर्चाबन्दी कस्नेगरि गृहकार्य थालेका छन् ।
काठमाडौंमा कार्यगत एकताको लागि मधेशकेन्द्रित दलले वार्ता टोलीसमेत गठन गरिसकेका छन् । उता, जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव यही बेला भारत भ्रमणमा निस्किएका छन् । उनले समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग भेट गरेको तस्विर बाहिरिएको छ । केही नेता तत्कालै दिल्ली यात्राको तयारीमा रहेको बुझिएको छ ।
राष्ट्रिय राजनीतिमा नै हलचल पैदा गर्नेगरि मधेशवादी दलबीच एकाएक सहकार्यको प्रस्ताव आउनु र उपेन्द्र यादव दिल्ली जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उता, ०७९ को निर्वाचनमा देशकै डलर अर्बपति विनोद चौधरीसँग पराजय व्यहोरेका पूर्वमन्त्री हृदयेश त्रिपाठीपनि यही बेला सक्रिय बनेका छन् ।
उनले पनि मधेशवादी दलबीच लुज–फोरम बनाएर संविधान संशोधनको विषयमा साझा धारणा बनाउनुपर्ने मत राखेका छन् । उनले यो बीचमा संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्तासमेत गरिसकेका छन् ।