Logo

राजीनामाको दबाबमा लेखा समिति सभापति ऋषिकेश पोखरेल : पिएविरुद्ध पक्राउ पुर्जी जारी, पत्नी अझै फरार !



काठमाडौं, २२ पुष । प्रतिनिधिसभाअन्तर्गत रहेको सार्वजनिक लेखा समितिका सभापति एवम् एमाले सांसद ऋषिकेश पोखरेलमाथि ठूलै संकट आइलागेको छ । सहकारी ठगीमा आफ्नै पत्नी मुछिएको र अहिलेपनि प्रहरकिो फरार सूचीमा रहेका समाचार बाहिरिएको एक साता नबित्दै आफ्नै स्वकिय सचिव (पिए) अनिलकुमार पोखरेलविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । अनिलविरुद्ध ठगीमा पक्राउ पुर्जी जारी भएको हो ।

मोरङको उमागौरी कृषि सहकारीको ठगीमा पोखरेलकी पत्नी अञ्जला कोइराला (पोखरेल) संलग्न भएकी छिन् । प्रहरीले उनलाई पनि प्रतिवादी बनाएको छ । तर, उनी फरारको सूचीमा छिन् । प्रहरीले अञ्जलाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । ऋषिकेशले शक्तिको दुरुपयोग गरेर पत्नीलाई जोगाउन खोजेको भनेर दिनदिनै समाचार आएका छन् ।

कतिसम्म उनले सार्वजनिक मिडियामा पनि पत्नी घरमा नभएर के जंगलमा छिन त ? भनेर खुलेआम शक्ति प्रदर्शन गर्ने गरेका छन् । अहिले सत्तारुढ दल नेपाली कांग्रेसभित्रैबाट पोखरेललाई सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारीबाट अलग हुन दबाब बढेको छ । सांसद रामहरि खतिवडाले त ऋषिकेशका पिए ठगीमा मुछिएपछि राजीनामा दिन माग गरेका छन् । उनले श्रीमती र पिएबारे थाहा नहुने कसरी सांसद हुन्छ र समितिको सभापति बन्न मिल्छ भन्दै नैतिकता प्रदर्शन गर्न खतिवडाको सुझाव थियो ।

आजमात्रै ऋषिकेशका पिए अनिलविरुद्ध ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको छ । पिए अनिल ठगीमा संलग्न भएको भनेर पीडितले जाहेरी दिँदा प्रहरीले लिन नमानेको कुरा बाहिर आएको थियो । त्यसमा पनि ऋषिकेशले नै शक्तिको दुरुपयोग गरेको चर्चा छ ।

पछि उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएपछि मुद्दा अघि बढेको हो । अदालतको परमादेशपछिमात्रै ऋषिकेशले पिएलाई जिम्मेवारीबाट हटाएको नाटक मञ्चन गरेका छन् । अहिले भने अनिलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यस्तो अवस्थामा ऋषिकेशलाई लेखा समितिको सभापतिबाट अलग हुनैपर्ने नैतिक दबाब छ । file photo



प्रतिक्रिया दिनुहोस्