वीरगञ्ज, २२ पुष। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पुर्वमन्त्री प्रभु साहले मुलुकमा बढदै गईरहेको भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने उदेश्यले वीरगञ्जमा भ्रष्टाचारको बिरुद्धमा खबरदारी सभा गर्न लागेको बताएका छन् । सरकारका मान्छेहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप उनले लगाए । भ्रष्टाचार नियन्त्रण गर्नेहरूकै मिलेमतोमा खुलमखुल्ला भ्रष्टाचार भैइरहेको अध्यक्ष साहले आरोप लगाए ।
आजपा पर्सा जिल्ला कमिटीको आज (सोमबार) वीरगञ्जमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले बिरगंजलाई आर्थिक राजधानीका साथै भ्रष्टाचारविरुद्ध हुने खबरदारी सभाका कारण शासकबर्ग त्रसित भएको बताए । हालै भ्रष्टाचार बिरुद्ध मधेसमा जागरण अभियान गरेको आजपाले वीरगञ्जमा भ्रष्टाचारबिरुद्ध खबरदारी सभा गर्न लागेको हो । साथै वीरगञ्जलाई मुलुकको आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग समेत आजपाले गरेको छ ।
‘मुलुकमा भ्रष्टाचार बढदै गईरहेको छ तर सरकार मुकर्दशक बनेको छ । सरकारकै संरक्षणमा भ्रष्टाचार बढदै गईरहेको छ । हरेक काण्डमा सरकारका मान्छेहरु संलग्न रहेका छन् । मुलुक लुटिरहेको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकायहरुकै संलग्नतामा हरेक क्षेत्रमा भ्रष्टाचार बढदै गईरहेको छ । भ्रष्टाचारबिरुद्ध आवाज उठाउने उद्देश्यले हामीले खबरदारी सभा गर्न लागेका छौं ।’
वीरगञ्जलाई देशको आर्थिक राजधानी घोषणा गराउन र भ्रष्टाचारबिरुद्ध जागरण गर्ने उद्देश्यले पुस २७ गते वीरगञ्जमा हुने खबरदारी सभालाई आजपा अध्यक्ष साहका साथै शीर्ष नेताहरूले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बैठकलाई सम्बोधन गर्दै साहले संघिय संरचना आउनुभन्दा अघि बिरगंजलाई राजधानी बनाउने भनिए पनि वीरगञ्जसंग धोका भएको बताए । प्रदेशको राजधानी बिरगंजलाई बनाउँन भनिए पनि षडयन्त्र गरिएको बताउदै उनले वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्नमा पनि षड्यन्त्र भईरहेको आरोप लगाए ।
‘काठमाडौं प्रशासनिक राजधानी हुने, पोखरा पर्यटकीय राजधानी हुने तर वीरगंज आर्थिक राजधानी किन नहुने ? हामीले बिरगंजलाई जसरी पनि आर्थिक राजधानी घोषणा गराएरै छाड्ने छौं,’ उनले भने, ‘यदी बिरगंजलाई आर्थिक राजधानी घोषणा गरिएन भने हामी चुप लागेर बस्दैनौं । अहिले खबरदारी सभा गरिरहेका छ, सरकारले हाम्रो माग सम्बोधनमा ढिलाई गरे यो भन्दा कडा आन्दोलन गर्न हामी बाध्य हुन्छौं ।’
साथै उनले सरकारले हरेक बस्तु र क्षेत्रमा मनोमानी कर लगाएर मुलुकलाई धरासायी बनाउदै गरिरहेको आरोप लगाए । भ्रष्टाचार बिरुद्ध जागरण गर्ने, सरकारको मनोमानी कर आतंकको अन्त्य र बिरगंजलाई आर्थिक राजधानी घोषणा गराउँन दबाब दिने उदेश्यले बिरगंजमा खबरदारी सभा गर्न लागेको आजपाले जनाएको छ ।
आजपाले भ्रष्टाचार, सरकारको मनोमानी कर आतंक, बैदेशिक रोजगारमा भईरहेको ठगी, भन्सार कानूनमा रहेको लुटकारी व्यवस्था एवं दलाल दलतन्त्रबिरुद्ध आवाज उठाउदै आएको छ ।