काठमाडौं, २३ पुष । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकमा पदाधिकारीले धारणा राख्ने क्रम जारी छ । बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेटको समय बोल्नको लागि छुट्याईएको थियो । तर, जनार्दन शर्मासम्म आईपुग्दा अध्यक्ष पुष्पकमल दाहालले उनलाई १० मिनेट बढि नै समय दिएका छन् ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यकाअनुसार अध्यक्ष दाहालले नै शर्मालाई आफ्नो धारणा राख्नको लागि विशेष समयको व्यवस्था गरेका हुन् । पछिल्लो समय शर्माले पार्टीभित्र फरक मत राख्दै आएका छन् । आज बोल्ने क्रममा पनि उनले अध्यक्ष प्रचण्डलाई निर्वाचित अध्यक्ष हुन किन डराएको भन्ने आशयले धारणा राखेका थिए ।
शर्माले विशेष महाधिवेशनमा जोड दिएका छन् । उनले युवा, महिला र दलितलाई विशेष महत्व दिईनुपर्ने भन्दै पार्टी रुपान्तरणको लागि नेतृत्व नै तयार हुनुपर्ने सुझाव दिएका छन् । file photo