काठमाडौं, २३ पुष । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक समापन भएको छ । समापन सम्बोधनको क्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन संसद्को यो कार्यकालमा नहुने स्पष्ट पारेका छन् । उनले अहिले संविधान संशोधनको लागि बहुमत नपुगेकोले संशोधन गर्न नसकिने बताएका हुन् ।
उनले संविधान संशोधन २०८७ सालमा हुने भन्दै नयाँ मिति तोकेका छन् । कांग्रेससँगको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्ने भनेर राखिएको भएपनि ओलीले केन्द्रीय कमिटीको बैठकमा भने अहिले बहुमत नभएकोले त्यो काम सम्भव नभएको स्पष्ट पारेका हुन् । उनले अब एमालेको बहुमत आएपछि ०८७ सालमा संविधान संशोधन गरिने प्रष्ट पारेका हुन् ।
सम्बोधनको क्रममा उनले भने,‘अहिले राष्ट्रिय सभामा एमालेको बहुमत छैन। २०८७ सालमा एमालेको बहुमत पुग्छ अनि त्यतिबेला संविधान संशोधन गर्नेछौं।’ राष्ट्रियसभामा सबभन्दा ठूलो दल माओवादी केन्द्र हो । माओवादीको सहमतिबिना संविधान संशोधन गर्न नसकिने चर्चा यसअघि पनि भैरहेको थियो । कांग्रेसका जिम्मेवार नेताहरुले समेत संविधान संशोधन लहडको भरमा गर्न नहुने भन्दै पन्छिन थालेको बेलामा प्रधानमन्त्री ओलीबाट यस्तो धारणा आएको हो ।