Logo

तुसारेपानीमा चन्दा उठाएर खेलमैदान निर्माण



म्याग्दी, २४ पुस । मङ्गला गाउँपालिका–१ तुसारेपानीमा ८० लाख ६२ हजारको लगानीमा खेलमैदान र सामुदायिक भवन निर्माण भएको छ । ६७ लाख ३० हजारमा मनकामना युवा क्लबले खेलमैदान र १३ लाख ३२ हजार चार सय ६२ लागतमा आमा समूहले सामुदायिक भवन निर्माण गरेका हुन् ।

मङ्गला गाउँपालिका र प्रदेश सरकारबाट ३५ लाख ५० हजार अनुदान प्राप्त भएको खेलमैदान निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका चन्दादाताले २१ लाख आठ हजार छ सय ५६ र १० लाख १७ हजार पाँच सय क्लबले आन्तरिक लगानी गरेको क्लब अध्यक्ष बेलबहादुर पुर्जाले बताए ।

बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने खेलमैदानमा प्यारापिट र स्टेज पनि रहेको छ । व्यवस्थित खेलमैदान भएपछि खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । आमा समूहको भवनलाई भेला, बैठक, भोज, भतेर, तालिम, गोष्ठी सञ्चालनका लागि पनि प्रयोग गर्न सकिन्छ ।

खेलमैदान, भवन र प्रथम तुसारेपानी कप तथा माघे सङ्क्रान्ति मेलाको मङ्गलबार एक समारोहका बीच उद्घाटन गरिएको छ । पूर्वसांसद नरबहादुर पुन, जग्गादाता बुद्धिराम पुन र निर्माण समितिका अध्यक्षसमेत रहेका प्रवेशद्वार निर्माता खड्कबहादुर रोकाले शिला अनावरण गरेर आमा समूहको भवन उद्घाटन गरेका थिए ।

खेलमैदानको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र तुसारेपानी घर भई हाल अष्ट्रेलिया बस्नुहुने मुक्तिप्रसाद रोकाले संयुक्त रूपमा शुभारम्भ गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्