Logo

वीरगञ्ज पछि पर्नुमा केपी ओलीको हात, पर्साका नेता दलालीमा उत्रिए : प्रभु साह



वीरगञ्ज, २५ पुष । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगञ्जको विकासमा राजनीतिक दल र नेताहरुले बेइमानी गरेको टिप्पणी गरेका छन् । नेताहरूको दोहोरो चरित्रका कारण वीरगञ्जको विकास ओझेलमा परेको उनको आरोप छ ।

वीरगञ्जमा रहेको नारायणी रंगशालाको आज निरीक्षण गर्दै आजपा अध्यक्ष साहले सरकारको दोहोरो चरित्रका कारण नारायणी रंगशाला जीर्ण बनेको बताए । केही चोर नेताहरुका कारण नारायणी रंगशाला जिर्ण भएको र विभेदको शिकार बनेको बताउँदै अब प्रभु साह चुप लागेर नबस्ने चेतावनीसमेत दिए ।

‘केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । उहाँ हालसालै वीरगञ्ज आउनुभएको थियो, के उहाँको नजरमा यो नारायणी रंगशाला पर्यो त ? के ठाकुरराम बहुमुखी क्याम्पस, नारायणी अस्पताल, चिनी मिल, कृषि औजार कारखाना उहाँको नजरमा पर्यो त ? यहाँको घण्टाघर पञ्चायतकालमा बन्यो, वीरगञ्जको विकासको बारेमा प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने,‘यहाँ आएर लामो लामो भाषण गर्ने ? यहाँको विकासको बारेमा केही नसोच्ने ? उहाँको अगाडिपछाडि हिँड्ेनलाई अब सोध्ने बेला भएको छ–की त्यो पार्टी छोड या यहाँको विकासको बारेमा केही गर । वीरगञ्जमा उनीहरुले लुटने काम मात्रै गरे ।’

वीरगञ्जबाट राजस्व लिने तर बिरगंजको बिकासका लागि सरकारले केही नगर्ने हो भने अब आफूहरु चुप लागेर नबस्ने साहको चेतावनी छ । उनले भने,‘अब यसको हिसाबकिताब गर्नुपर्ने बेला भएको छ । यहाँबाट ट्रक आउँजाउँ गर्दा त्यसको धुलोधुवा बीरगंजबासीले खानुपर्ने तर सरकारले विकास नै नगरेपछि अब हामीले कर किन तिर्ने ? त्यसबारेमा सोच्ने बेला भएको छ।’ उनले वीरगञ्ज र यहाँका वासीसँग राज्यले विभेद गरेको गुनासो पोखे । वीरगञ्जको शान, मान र गौरव फर्काउनको लागि आफ्नो दल गम्भीर भएर लागेको उनको भनाई छ ।

पर्साका नेताहरु दलालीमा उत्रिएकै कारण आज रंगशाला निर्माणजस्ता गौरवशाली योजना अलपत्र परेको उनको आरोप छ । उनले अहिलेको सरकारले मधेशसंग विभेद, अत्याचार र सौताको व्यवहार गरेको आरोप लगाए ।

नारायणी रंगशालाको निरीक्षणपश्चात् आजपा अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-

‘नारायणी रंगशालाको हाल बेहाल हेर्दा सरकारसंग केही प्रश्न गर्न मन लाग्यो । गौरवशाली इतिहास बोकेको यो रंगशालाप्रति विभेद किन ? रंगशालाको बिकास सरकारको प्राथमिकतामा किन परेन ? के यहाँको बालबालिकालाई खेलकुदको अधिकार छैन ? देश बदलावमा अग्रणी भुमिका खेलेको बिरगंजलाई यस्तो उजाड़ किन बनाउनु भो ? के बीरगंज प्रयोग गर्ने र फ्याक्ने ठाऊँ हो ? के कर तिर्ने बिरगंजले रिटर्न पाउने अधिकार राख्दैन ? सरकारै सरकार भएको देशमा बीरगंजको लागी सरकार बिहिनता किन ? अहिलेको २१ औ शताब्दीको लोकतान्त्रिक युगमा के यस्तो अत्याचार सहन सकिन्छ ? हेक्का राखनु चोरहरू, अब बिरगंज चुप लागेर बसदैन ।’



प्रतिक्रिया दिनुहोस्