काठमाडौं, २५ पुष । प्रधानमन्त्री केपी शर्मा ओली आज एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको ‘स्ववियु निर्वाचनको सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशाला–२०८१’ कार्यक्रममा सरिक भएका छन् । प्रधानमन्त्री ओली त्यहाँ चिफ गेष्टको रुपमा थिए । उनले अनेरास्ववियुलाई अब समून्द्रपारिसम्म पुर्याउन निर्देशन दिएका छन् ।
उनले अनेरास्ववियुले कहिल्यैपनि हार्न नजाने र सधैं पहिलो हुने गरेको भन्दै प्रशंसा गरे । त्यस क्रममा उनले एमालेलाई अब ठूलो दल बनाउनेपनि बताए । उनले भनेका थिए,‘एमालेको गन्तव्य निश्चित् छ । केपी ओली साधारण मान्छे हो, जसले इमानदारिताका साथ काम गर्छ ।’
कार्यक्रममा ओलीले रवि लामिछाने नेतृत्वको रास्वपालक्षित टिप्पणीसमेत गरेका थिए । उनले संगठनबिनाको पुक्क फुलेका ब्याट्रीजस्ताले अब फुर्ति गर्न नहुने भन्दै रास्वपालाई व्यंग्य हानेका थिए । उनी त्यतिमात्रमा रोकिएनन् । उनले ‘हावा भरेका बेलुन’जस्ताको कुनै सम्भावना नभएको समेत ठोकुवा गरेका थिए ।
उता, पोखरामा भने रवि लामिछानेको थुनछेक बहस सकिएर आजै फैसला आउने तयारी हुँदैछ । यता, ओली भने विद्यार्थीहरुसँग सेल्फी खिच्दै रमाएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम