काठमाडौँ, २६ पुस । सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ ।
यही पुस २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्।
बैठकले सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकका रुपमा काम गर्नेगरी काजमा खटाउने निर्णय गरेको छ । बैठकले आगामी माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने ‘वर्कसप अन इनह्यान्सिङ एसएआई–सिएसओ इन्गेजमेन्ट इन द एएसओएसएआई रिजन’ कार्यक्रममा सहभागी हुन उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारलाई स्वीकृत प्रदान गरेको जानकारी उनले दिए ।
मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद्ले आगामी फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृति प्रदान गरेको छ । रासस