Logo

रवि छुटेलगत्तै प्रचण्ड हौसिए, ओली सरकार अब नचल्ने दाबी



काठमाडौं, २६ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब नचल्ने दाबी गरेका छन् । उनले अहिलेको कांग्रेस–एमालेको सहकार्यलाई अप्राकृतिक र अलोकतान्त्रिक भएको भन्दै अब यो नचल्ने दाबी गरेका हुन् ।

संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीलगायत विभिन्न मुद्दाको थुनछेक बहसको क्रममा हिजोमात्रै कास्की जिल्ला अदालतको आदेशबाट ६५ लाख धरौटीमा रिहा भएपछि राजनीति तातिएको छ । हिजो र आज प्रचण्ड निरन्तर उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छन् । हिजो माधव नेपालसँगमात्रै भेट गरेका दाहालले आज राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठसँग भेट गरेका छन् ।

ती भेटवार्ता सकेर सिंहदरबारबाट बाहिरिने क्रममा दाहालले हौसिएर अहिलेको सरकार अब नचल्ने दाबी गरेका हुन् । उनले भनेका छन्–‘‘हामी समाजवादी मोर्चाको बैठक माघ २ गते बस्दैछ । त्यही मोर्चालाई सक्रिय पार्ने विषयमा हिजोपनि र आजपनि छलफल भएको हो । यो गठबन्धन अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ भन्ने कुरा मैले गम्भीर रुपले पार्लियामेन्टमा र बाहिरपनि भनेको सुन्नै भएको छ । अप्राकृतिक भएकोले अब यो चल्दैन् ।’



प्रतिक्रिया दिनुहोस्