काठमाडौं, २७ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फासिस्ट नबन्न सुझाव दिएका छन् । उनले हिट्लर पहिले समाजवादीको नारा लिएर अघि बढेको तर पछि फासिस्ट भएको भन्दै अलि अलि केपी ओलीपनि त्यस्तै हुन खोजेको हो कि भन्ने आफ्नो संकेत भएको टिप्पणी गरे ।
ललितपुरमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘कतै हाम्रो देशमा पनि त्यस्तै जन्मिने त होईन भन्ने डरपनि छ, सुन्लान केपी ओलीले, मलाई नै भन्दै हुनुहुन्छ कि के हो माधव नेपालले भनेर ? संकेत त गरेको हो । किन ढाँट्नु ? तर सुझाव दिन खोजेको हो । तपाईं फासिस्ट बनेर अब पार लगाउन सक्नुहुन्न ? लोकतान्त्रिक बन्नुहोस । विधि अवलम्बन गर्नुहोस । अरुको मान सम्मान गर्न जान्नुहोस । र, सहकार्य गर्नुहोस । आफ्नै हिसाबले चल्न चाहनुहुन्छ भने भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन् ।”
उनले राजनीतिमा थकान भन्ने नहुने कुरा मदन भण्डारीले भनेको कुरा पनि स्मरण गराए । उनले आचरण राम्रो हुनुपर्नेमा जोड दिए । उनले केपी ओलीले आफूभन्दा जान्ने यो संसारमा कोही पनि जन्मिएको नठान्ने आरोप लगाए । उनले भने,‘केपी ओलीले यो संसारमा म भन्दा जान्ने कोही जन्मिएको छ भन्ने ठान्नुहुन्न, ज्ञानको म एक्लो भण्डार हुँ, अरु त केही पनि होईन भन्ने ठान्छन् । त्यही अहंकारले बिग्रियो । पार्टीमा समस्या र द्धन्द्ध खडा भयो । सामूहिक ढंगले निर्णय गर्ने चलन हरायो । बैठकमा नआउने, एक्लै निर्णय चलन सुरु भयो । चूनौति दिने मान्छे शत्रुको कोटामा पर्न थाले । तिनीहरुको पत्तासाफ गर्ने प्रवृत्तिको सुरुवात भयो । हामीलाई १४ जनालाई कारबाही गरिएको थियो, तर त्यो बेलामा कसो सभामुखले जोगाईदिनुभयो । अग्नि सापकोटाजीलाई धन्यवाद छ ।’ उनले आफूहरु आज चूनौति दिने अवस्थामा रहेको र विकल्प शक्तिको रुपमा रहेको दाबी गरे ।